काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। १५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो।
निर्वाचनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ। निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था गरिएको राप्रपाको निर्वाचन समितिले जनाएको छ।
१९९ सदस्यीय नयाँ कार्यसमितिका लागि शुक्रबार २६६ जनाले उम्मेदवारी दर्ता गरएका छन्। अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको हो। उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ। चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ।
उम्मेदवारी दर्ताबाट करिब रु ५० लाख सङ्कलन भएको जनाइएको छ। करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ।
देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन्। प्रतिनिधि आफ्नो पक्षको नेतृत्वका लागि मत माग्नमा व्यस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।