काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन सम्पन्न गराउन केन्द्रीय निर्वाचन समितिले सर्लाहीमा चौथो निर्वाचन अधिकृत खटाएको छ।
केन्द्रबाट खटिएर गएका तीनजना निर्वाचन अधिकृतले सर्लाहीमा अधिवेशन गराउन नसकेपछि शुक्रबार चौथौ निर्वाचन अधिकृत पठाइएको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले अरूण ज्ञवालीलाई निर्वाचन अधिकृत तोकेर सर्लाही पठाइएको जानकारी दिए। श्रेष्ठका अनुसार ज्ञवालीलाई बिहीबार साँझै सर्लाही पठाइएको हो।
गुटगत विवादका कारण सर्लाहीमा वडादेखि सबै तहको अधिवेशन प्रभावित भएको छ। पहिलोपटक निर्वाचन गराउन गएका विनोद कार्की विवाद मिल्न नसकेपछि राजीनामा दिएर फर्किएका थिए। त्यसपछि दिवाकर पाण्डेलाई निर्वाचन अधिकृतका रुपमा खटाइयो।
मलङ्गवास्थित पार्टी कार्यालयमा बास बसेका पाण्डेलाई गुटगत विवादका कारण एक पक्षले मरणाशन्न हुनेगरी कुटपिट गरेपछि उनी पनि फर्किएका थिए।
पाण्डेलाई सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद अमरेशकुमार सिंह पक्षीय कार्यकर्ताले कुटपिट गरेको इतर समूहको आरोप छ।
त्यसपछि भरत राउतलाई निर्वाचन गराउन तेस्रो अधिकृतका रूपमा केन्द्रीय निर्वाचन समितिले सर्लाही पठाएको थियो। उनले सर्लाहीका २०० मध्ये १९० वडामा वडामा पार्टीको अधिवेशन सम्पन्न गराए।
सर्लाहीको १० वटा वडामा अझै विवाद छ। विवाद देखिएकामध्ये धेरैजसो संघीय सांसद सिंहको निर्वाचन क्षेत्रका वडाहरू छन्।
वडादेखि पालिका अधिवेशन प्रभावित भएपछि जिल्ला सम्मका अधिवेशनहरूलाई थाति राखेर प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने मनस्थितिमा त्यहाँका नेताहरू पुगेका छन्।
शुक्रबार सबै प्रदेशमा प्रदेश अधिवेशनका लागि मनोनयन दर्ता भइरहँदा सर्लाहीमा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गराउने तयारी थियो। तर, एक दिनअघि निर्वाचन अधिकृत हिँडेपछि दुवै अधिवेशन प्रभावित भएका छन्।
सर्लाही विवादकै कारण प्रदेश २ मा शुक्रबार मनोनयन रोकिएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव श्रेष्ठले सर्लाहीमा शुक्रबार प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सकेर शनिबार मनोनयन दर्ताका लागि कार्यतालिका निर्धारण गरिएको बताए।
‘आज प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्न भनेका छौं, अधिवेशनको तयारी पनि भइरहेको छ,’ उनले भने,‘उहाँहरूले आज अधिवेशन गर्न सक्नु भएन भने प्रदेश र केन्द्रीय महाधिवेशनमा भाग लिनबाट सर्लाही बञ्चित हुने सम्भावना बढेर जान्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।