काठमाडौं– सर्लाहीमा कांग्रेसको अधिवेशन गराउन खटिएका तेस्रो निर्वाचन अधिकृत पनि जिल्ला छाडेर 'भागेका' छन्। प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत भरत राउत अधिवेशन हुनुभन्दा एक दिनअघि सर्लाही छोडेर हिँडेका हुन्।
क्रियाशील सदस्यताको विवादले नै उग्र रुप लिएको सर्लाहीमा अधिवेशनकै क्रममा गोली समेत चलेको थियो। पछिल्लोपटक विवाद समाधान गरेर शुक्रबार प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गराउने तयारी थियो।
सर्लाहीमा अधिवेशन गराउन नसकेर यसअघि २ जना निर्वाचन अधिकृतले राजीनामा बुझाएका थिए। निर्वाचन गराउन तेस्रो अधिकृतका रूपमा त्यहाँ पुगेका राउत बिहीबार मध्याह्न सर्लाही छोडेर हिँडेका छन्।
सर्लाही कांग्रेस सभापति नागेन्द्रकुमार रायले निर्वाचन अधिकृत राउतले सर्लाही छोडेको पुष्टि गरे। ‘सुरक्षा निकायका प्रमुखहरूले फोन गर्दा उहाँले फोन उठाउनु भएको थिएन। २/३ बजेतिर उहाँसँग मेरो सम्पर्क भयो,’ रायले भने, ‘म निर्वाचन गराउन सक्दिनँ भनेर उहाँ हिँड्नुभएको छ।’
रायले संघीय सांसद अमरेश सिंहको दबाबमा निर्वाचन अधिकृत राउत सर्लाही छोडेर हिँडेको दाबी गरेका छन्। महाधिवेशन प्रतिनिधिमै पराजित हुने अवस्था देखेपछि सिंहले जसरी पनि अधिवेशनलाई भाँड्न खोजिरहेको उनको भनाइ छ।
‘मैले फोन गर्दा राउतजीले लक्ष्मण रायको घरमा छु भन्नुभयो,’ सभापति रायले भने, ‘लक्ष्मणजी अमरेशजीसँग निकट हुनुहुन्छ। म सभापति भएर पनि निर्वाचन अधिकृतलाई आफ्नो घर लगेको छैन। उता किन गएको भनेर मैले प्रश्न गरे। उहाँले निर्वाचन गराउन नसक्ने बताउनुभयो।’
निर्वाचन अधिकृत जिल्ला छोडेर हिँडेको जानकारी आफूले केन्द्रीय निर्वाचन समितिलाई गराइसकेको सभापति रायले बताए। निर्वाचन समितिले शुक्रबार अर्को निर्वाचन अधिकृत पठाइने जानकारी दिएको उनले बताए।
निर्वाचन अधिकृत जिल्ला छोडेर हिँडेपछि प्रदेश अधिवेशनका साथै प्रतिनिधिसभा अधिवेशनमा सर्लाही सहभागी हुने सम्भावना बढेको छ।
जिल्ला सभापति रायले आफूहरूले मंसिर १९ गते प्रदेश अधिवेशनका लागि मनोनयन दर्ताको कार्यक्रम राख्न निर्वाचन समितिसँग आग्रह गरेको बताए।
‘हामी अधिवेशनको वातावरण बनाउन जुटेका छौं। हामीले गरेको आग्रहअनुसार मनोनयन दर्ताको मिति परिवर्तन भए प्रदेश अधिवेशनमा सहभागी हुने छौं। नयाँ मिति तोकिएन भने सहभागी हुनबाट बञ्चित हुने छौं,’ उनले भने।
सर्लाहीमा अधिवेशनका लागि कांग्रेसले पहिलोपटक विनोद कार्कीलाई निर्वाचन अधिकृतका रुपमा खटाइएको थियो। उनले निर्वाचन गराउन नसकेर फिर्ता भएपछि दोस्रोपटक दिवाकरण पाण्डेलाई पठाइएको थियो।
गटगत विवादका कारण आफूमाथि कुटपिट भएपछि पाण्डेले अधिवेशन गराउन नसकिने भन्दै राजीनामा दिएका थिए। त्यसपछि सर्लाहीमा राउतलाई खटाइएको थियो।
अधिवेशनकै क्रममा संघीय सांसद सिंहको गृहनगर बलरा नगरपालिका–९ मा विवाद हुँदा प्रदेश सरकारमा मन्त्रीसमेत रहेका वीरेन्द्र सिंहमाथि आक्रमण भएको थियो। त्यसक्रममा उनका पीएसओले हवाई फायर गरेका थिए।
त्यसको एक दिनपछि सांसद सिंहकै नगरपालिका बलरामा मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर जबरजस्ती प्रमाणपत्र वितरण गर्न थालिएपछि प्रहरीले उनको उद्धार गरेको थियो।
झाको उद्धार गर्ने क्रममा झडप हुँदा उनीसहित केही प्रहरी घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।