काठमाडौं- निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरी बन्दसत्रको हलबाट अनुमोदन भएको केन्द्रीय सदस्यको पद एमाले नेता लालबाबु पण्डितले अस्वीकार गरेका छन्। आइतबार राति ओलीले 'सर्वसम्मत सूची' सार्वजनिक गर्दा पण्डितलाई केन्द्रीय सदस्यमा राखिएको थियो।
तर, पण्डितले सोमबार त्यसलाई अस्वीकार गरेका हुन्। उनले एमालेको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमा पण्डितले लेखेका छन्, 'आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै १०औँ महाधिवेसनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।'
पण्डित आठौं महाधिवेशनमा तराई-मधेस समूहबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए। नवौं महाधिवेशनमा भने उपाध्यक्षमा पराजित भएका थिए। त्यतिबेला उनी माधव नेपालको प्यानलमा थिए।
पण्डितले निर्वाचन भए यसपटक पनि आफू उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेको बताएका थिए। सहमति भए आफू बाधक नबन्ने उनको भनाइ थियो।
ओलीले बन्दसत्रमा सहमतिको सूची जारी गरे पनि अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भूसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले असहमति जनाउँदै उम्मेदवारी दिएका छन्। एमालेमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा १८ जनाको उम्मेदवारी परेको छ र आजै निर्वाचन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।