काठमाडौं- अभिनेता राजेश हमाल नयाँ जीप कम्पासको साथमा जीपलाइफमा प्रवेश गरेका छन्। हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जीप सोरुमबाट लेजेण्डरी जीप कम्पासको डेलिभरी लिएका हुन्।
‘मैले युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको थिएँ। सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जीप पनि चलाएको थिएँ। म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ,’ उनले भने, ‘म खुसी छु कि आज मैले जीप किनेँ।’
केही महिनाअघि नयाँ जीप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयूभी सेगमेन्टमा जीपको बिक्री उल्लेखनीय रुपमा बढिरहेको छ। यो सकारात्मक गति यो आर्थिक वर्षको अन्त्यसम्म पनि जारी रहने अपेक्षा एमएडब्ल्यू लाइफले गरेको छ।
‘जीपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेगमेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्ल्यू लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछानेले भने, ‘नेपाली बजारले नयाँ जीप कम्पासलाई सहजै स्वीकारेको छ र हामी निकै उत्साहित छौं।’
नयाँ कम्पासमा जीपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरुको लामो सूची छ। र, सबैभन्दा महत्त्वपूर्ण कुरा कम्पासमा जीपको ‘लेजेण्डरी अफरोड क्यापाबिलिटी’ छ जसले चालकलाई जहाँसुकै गरेर जेसुकै गर्न मद्दत गर्छ।
नेपालमा नयाँ जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ। जसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।