चितवन– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ। दिउँसो १२ बजे हुने उद्घाटन समारोहमा सहभागी हुन देशभरबाट नेता कार्यकर्ता यतिबेला चितवन आउने क्रम जारी छ।
देशभरबाट आएका सवारीका कारण चितवनको ट्राफिक व्यवस्थापन बिहानैदेखि अस्तव्यवस्त बनेको छ। नारायणघाट प्रवेश गर्ने सबै मुल सडक अवरुद्ध भएका छन्।
मध्यान्ह १२ बजे अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारलाई मेहनतपूर्वक सजाइएको छ। ठाउँठाउँमा सेल्फी प्वाइन्ट बनाइएको छ। ठूलो मञ्च बनाइएको छ।
महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि, १०३ जना पर्यवेक्षक र लाखौं अन्य शुभेच्छुक र दर्शक सहभागी हुने आकलन गरिएको छ। एमाले नेतृत्वले भने करिब पाँच लाख सहभागीका बीच उद्घाटन सत्र सम्पन्न हुने दाबी गरेको छ।
उद्घाटन समारोहमा ५ लाख मानिस उतार्ने एमालेको दाबी छ। देशका विभिन्न भागबाट चितवन पुगेका मानिसहरुको भिड बिहानैदेखि बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।