काठमाडौं- अर्जेन्टिनाका भूतपूर्व फुटबल खेलाडी डिएगो म्याराडोनालाई २५ नोभेम्बर २०२० मा ६० वर्षको उमेरमा मृत घोषित गरिएको थियो।
ब्युनस आयर्सस्थित निवासमा हृदयाघात भएर उनको मृत्यु भएको भनिएपनि यस घटनाको छानबिन गरेका अधिकारीहरुले उपचारमा चिकित्सकको लापरबाही भएको आरोप लगाएका थिए।
उनको मृत्यु हुनुभन्दा एक महिना अगाडि मात्रै मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो। त्यसयता उनी घरमै स्वास्थ्यलाभ गर्दै आइरहेका थिए। मद्यपानको लत छुटाउन पनि उनको उपचार भइरहेको थियो।
म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोप शल्यक्रिया गर्ने डाक्टर, मनोचिकित्सकदेखि उनको घरमा काम गर्ने नर्ससम्मलाई लागेको छ। उनीहरुले गल्ती स्वीकार गरे ८ देखि २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने खेलसम्बन्धी अनलाइन मार्काको समाचारमा उल्लेख गरिएको छ।
यसअघि म्याराडोनाको परिवारले उनको हेरचाहमा खटिएका स्वास्थ्यकर्मीको हेलचेक्र्याइँको कारण नै मृत्यु भएको आरोप लगाएका थिए।
उनको मृत्युसँगै अनुसन्धानका लागि एक छानबिन समिति बनाइएको थियो। उक्त समितिले पनि म्याराडोनाको निधन हेरचाहको कमी र उपचारमा लापरबाहीले भएको निष्कर्ष निकालेको थियो।
'उपचार गर्ने जिम्मा लिएको स्वास्थ्य टोलीले अपर्याप्त हेरचाह गर्दा र उपचारमा लापरवाही गर्दा माराडोनाको मृत्यु भएको हो,' रिपोर्टमा भनिएको थियो, 'उनले लामो समय पीडा सहेका थिए। तर, राम्रो उपचार पाउन सकेनन्।'
म्याराडोनाको मृत्युपश्चात अर्जेन्टिनाको विभिन्न सहरमा न्यायको माग गर्दै प्रदर्शनसमेत गरिएको थियो।
यद्यपि, म्याराडोनाको मृत्युको कारण अझै स्पष्ट भएको छैन, र पूर्व नेपोली स्टारको उपचारमा संलग्न डाक्टरविरुद्ध लगाइएको आरोपमाथि थप अनुसन्धान भइरहेको छ।
हालै एक अर्जेन्टिनी वरिष्ठ पत्रकार नेल्सन क्यास्ट्रोले लेखेका पुस्तकका अंशहरूमा म्याराडोनाको मृत्युको वरिपरि केही अचम्मलाग्दो विवरणहरू देखा परेको छ।
म्याराडोनाको अन्त्येष्टि पछिको विवाद
'एक समूह थियो। जसले उहाँको मुटु निकाल्ने योजना बनाएको थियो,' क्यास्ट्रोले एल ट्रेससँगको अन्तर्वार्तामा भनेका थिए।
उनका अनुसार प्रारम्भिक चरणमा त्यो योजना भने सफल हुन सकेन। बाहिरी मानिसहरूले थाहा पाएपछि त्यो योजना 'ड्रप' भएको उनले बताएका छन्। यद्यपि, उनको मृत्युपछि उनलाई मुटुविना गाडिएको बताइन्छ।
'म्याराडोनाको मुटुको तौल आधा किलो थियो, यो धेरै ठूलो मुटु थियो। सामान्यतया: मानिसको मुटुको तौल ३०० ग्राम हुन्छ। केही कारणले उहाँको मुटु ठूलो थियो। त्यसैका लागि अध्ययन गर्न उहाँको मुटु निकालिएको थियो। उहाँलाई मुटुविना गाडिएको छ,' क्यास्ट्रोले भने।
यो एक ज्ञात तथ्य हो। म्याराडोनाको मस्तिष्कमा रक्तस्राव भएको आशंमा गत वर्षको नोभेम्बर महिनाको सुरुतिर शल्यक्रिया गरिएको थियो।
तर, मदिरा परित्याग गर्दा उत्पन्न समस्याले उनी लामो समय अस्पताल बस्नुपरेको थियो। रक्तअल्पता र निर्जलीकरणको समस्या देखिएपछि उनी राजधानीस्थित एउटा क्लिनिकमा भर्ना भएका थिए।
सुधारगृहमा म्याराडोनालाई उनका केही निकटस्थ साथीले मात्रा भेट्न पाउने व्यवस्था मिलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।