चितवन- नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आउन अब चार दिन मात्रै बाँकी छ।
महाधिवेशन आउने दिन नजिकिँदै गएसँगै तयारी पनि तीव्र पारिएको छ। नेकपा एमाले चितवनले मञ्च व्यवस्थापनदेखि लिएर अन्य महत्त्वपूर्ण कामलाई तीव्रताका साथ अघि बढाइरहेको छ।
देशभरबाट प्रतिनिधि र सहभागी गरेर पाँचलाख मानिस उद्घाटन सत्रमा सहभागी गराउने तयारी गरेको एमालेले त्यसको पनि व्यवस्थापन गरेको छ।
ठूलो संख्यामा मानिसहरु सहभागी हुने भएपछि त्यसै अनुसार सवारी साधनको व्यवस्थापनको काम पनि थालिएको छ।
महाधिवेशन स्वयंमसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले सवारी व्यवस्थापनका लागि सुरक्षा निकायसँगको समन्वयमा काम भइरहेको बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले पनि अहिलेदेखि नै नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई ध्यानमा राखेर ट्राफिक व्यवस्थापनको काम अघि बढाएको छ।
महाधिवेशनमा भाग लिन पश्चिमका जिल्लाबाट आउने सवारी साधनलाई नवलपरासीको गैँडाकोटमा, पूर्वबाट आउने सवारी साधनलाई केन्द्रीय बस टर्मिनल लगायतका ठाउँमा व्यवस्थापन गरिने छ।
त्यस्तै, नारायणगढ मुग्लिन सडक हुँदै आउने सवारी साधनलाई नेपाल ट्रष्टको कार्यालय, पश्चिम चितवन क्षेत्रबाट आउने सवारी साधनलाई बेलचोक क्षेत्र र बागिश्वरीमा तथा चितवनकै कालिका नगरपालिकासहितका स्थानबाट आउने सवारी साधनलाई वीरेन्द्र क्याम्पसको नौबिघा चौरमा व्यवस्थापन गरिँदैछ ।
जिल्ला ट्राफिक प्रमुख, प्रहरी निरीक्षक भगवानराज थापाले अहिले ४० जना ट्राफिक प्रहरीले काम गरिरहेका भन्दै थप एक सय ट्राफिक प्रहरी खटिने जानकारी दिए।
महाधिवेशनको उद्घाटनमा धेरै सवारी साधन आउने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप प्रहरी परिचालन गर्न लागिएको हो।
यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले महाविधेशन उद्घाटनका दिन जिल्लाको यातायात व्यवस्थापनलाई सहज बनाउन थप जनशक्ति परिचालन गर्नेगरी काम भइरहेको जानकारी दिए।
मंसिर ९ गतेदेखि नै नारायणगढ र भरतपुर क्षेत्रलाई केन्द्रित गरेर ट्राफिक प्रहरीको थप जनशक्ति परिचालन गर्नेगरी समन्वय भएको भुर्तेलले बताए।
महाधिवेशन उद्घाटनका दिन सवारी साधनलाई कुन तरिकाले सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।