ओमानले सफलतापूर्वक आईसीसी टी२० विश्वकप २०२१ को आयोजना गर्यो। योसँगै ओमान विश्वकप आयोजना गर्ने र भाग लिने अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पहिलो एसोसिएट राष्ट्र पनि बन्यो।
ओमान परम्परागत रूपमा लोहबान (सुन्दर पथर), शक्तिशाली किल्ला र फरक प्राकृतिक सौन्दर्यको लागि प्रसिद्ध छ। सन् २००२ देखि क्रिकेट खेल्न थालेको ओमानले सन् २०१४ मा एसोसिएट राष्ट्र र एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) मान्यता पायो। अहिले आईसीसी विश्वकप क्रिकेट लिग–२ खेलिरहेको यो देश अंक तालिकाको शीर्ष स्थानमा छ। ओमान अब क्रिकेटबाट पनि चिनिने बाटोमा छ।
ओमानकै बाटोलाई पछ्याउन अमेरिका जस्तो शक्तिशाली देशसमेत लागि परेको छ। अब क्रिकेट इंग्ल्याण्ड र यसका कुनै समयका उपनिवेश देशमा मात्र सीमित छैन। नेपाल लगायत विकासोन्मुख देश पनि अगाडि आउँदैछन्। ‘क्रिकेट राजनीति’ले समेत बाटो मोड्दैछ।
कुनै बेला ‘क्रिकेटको मुख्यालय’ इंग्ल्याण्ड थियो। इंग्ल्याण्डले नै खेलका नियमहरू बनाउने, हेरफेर गर्ने र आयस्रोत नियन्त्रण गर्ने गर्थ्यो। बाँकी क्रिकेट खेल्ने देशले ‘अङ्ग्रेजी शासन’ मान्नै पर्थ्यो।
प्रसिद्धि र पैसाको खोजीमा क्रिकेटका हस्ती देशका प्रतिभाशाली क्रिकेटरहरू काउन्टी क्रिकेट खेल्न इंग्ल्याण्ड जाने गर्थे। खेलको नियन्त्रक निकायलाई 'इम्पेरियल क्रिकेटिङ काउन्सिल' भनिन्थ्यो। यो इंग्ल्याण्डमा आधारित काउन्सिल थियो। तर, अहिले यसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) भनिन्छ र मुख्यालय दुबईमा सारिएको छ।
आईसीसीको मुख्यालय दुबईमा सरेपछि क्रिकेटको स्वरुपमा पनि परिवर्तन आएको छ। पछिल्ला केही वर्षहरूमा क्रिकेटको परम्परागत शक्ति सन्तुलनमा पूर्ण परिवर्तन भएको देखिएको छ। क्रिकेटबाट भारतले अहिले वार्षिक करोडौं डलर आम्दानी गरिरहेको छ। अहिले नाम र पैसा कमाउन इंग्ल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डका खेलाडी भारत आउँछन्।
यही विषयलाई लिएर भारतीय क्रिकेट टिमका पूर्वविकेटकिपर फारुक इन्जिनियरले आफ्नो देशलाई क्रिकेटको शक्तिशाली देशको रूपमा चित्रित गरेका थिए। उनले दैनिक भास्करलाई दिएको एक अन्तर्वार्तामा आईपीएल सुरु भएपछि बेलायतीहरु अचानक ‘भारतीयको जुत्ता चाट्न’ आउन थालेको विवादास्पद अभिव्यक्ति दिएका थिए।
‘आईपीएल सुरु भएपछि भारत अचानक बेलायतीहरूका लागि राम्रो भयो। हालका क्रिकेटरहरू आईपीएल खेल्न उत्सुक छन्। पूर्वक्रिकेटरहरूले पनि भारतको प्रशंसा गरिरहेछन्। उनीहरूको लागि अहिले भारतमा हरेक वर्ष केही महिना काम गर्ने र टीभी कार्यक्रमहरू गर्ने ठाउँ बनेको छ। काम पाउँदा ब्रिटिशहरू ज्यादै खुशी छन्। तिनीहरू अब पैसाको लागि हाम्रो जुत्ता चाट्छन्,’ उनले भनेका थिए।
इन्डियन प्रिमियर लिग (आईपीएल) ले संसारभर प्रसिद्धी कमाएपछि उनको यो अभिव्यक्ति आएको हो। आईपीएलले अमेरिकाको बास्केटबल लिगमा आधारित बहु–अरब डलरको फ्रेन्चाइज लिगले भन्दा बढी कमाउँछ। एक अर्बभन्दा बढी समर्थक रहेको क्रिकेटले भारतमा विश्वव्यापी मन्दीको समयमा पनि हरेक वर्ष ७–९ प्रतिशतको दरले बढिरहेको अर्थतन्त्रलाई मजबुत बनाएको छ।
भारत विश्व क्रिकेट जगतमा यस्तो चुम्बक बनेको छ, जसले भू–राजनीतिक प्रतिद्वन्द्वी पाकिस्तानका प्रतिभाशाली क्रिकेटरलाई पनि आफ्नो राष्ट्रिय टोलीमा भन्दा आईपीएल खेल्न आकर्षित गर्छ। भारत अहिले आफ्नो क्रिकेटको बल प्रयोग गरेर ‘राजनीतिक केन्द्र’ बनाउन लागिरहेको छ। केही दिन अघिमात्र अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री जोन होवार्डको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको उपाध्यक्ष बन्ने सपनालाई भारतीय क्रिकेट अधिकारीहरूले असफल बनाइदिएका थिए।
जोन होवार्ड तीनै व्यक्ति हुन्, जो तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशका समर्थकमध्ये पर्थे। उनलाई दक्षिण अफ्रिकाको तत्कालीन रंगभेदी शासनको समर्थक र जातिवादी दक्षिणपन्थीको रूपमा हेरिन्छ। उनी अस्ट्रेलियाको प्रधानमन्त्री हुँदा त्यहाँ भारतीयहरूमाथि जातीय आक्रमण बढेको थियो। भारतले यसलाई अन्तर्राष्ट्रिय अपमानको रूपमा हेर्छ। तर, अहिले उनैले गरेको व्यवहारको बदला भारतीय सरकारले क्रिकेटबाट लिएको छ।
भारत अहिले पनि उति नै शक्तिशाली छ। उसले मैदानमा मात्रै होइन, आईसीसी बोर्डमा समेत राजनीति गर्दै आएको छ भन्ने यस घटनाले प्रष्ट पार्छ। उक्त विषय बुझेको अस्ट्रेलिया पछिल्लो समय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सँग काँधमा काँध मिलाएर हिँड्न तयार भएको छ।
यसभन्दा अगाडि क्रिकेटमा प्रभुत्व जमाएका ठूला देशले आर्थिक शक्ति प्रयोग गरेर आफ्नो स्वार्थ अनुरूप नियमहरू हेरफेर गर्थे। विकासोन्मुख देश ती नियम पछ्याउन विवश थिए। उनीहरु विश्वकप जस्ता ठूला प्रतियोगिताहरूमा पनि आफ्नो दबदबा कायम राख्न प्रायः कमजोर राष्ट्रहरूलाई बेवास्ता गर्दै नियम परिवर्तन गर्थे।
यही चपेटामा भारत पनि पर्ने गरेको थियो। भारतीयहरूले आफ्नो देशमा अङ्ग्रेजको शासन हुँदा उनीहरूबाटै क्रिकेट खेल्न सिकेका थिए। उनीहरु मैदानको खेलमा अभ्यस्त भइसकेका थिए। तर, क्रिकेट राजनीति बुझ्न भने लामो समय लाग्यो। जब बुझे, त्यो राजनीतिमा जब्बर भएर आए।
अहिले शक्तिशाली बनेको भारतले पनि खेलको नियम उसरी नै परिवर्तन गर्ने गरेको छ। भारतको हस्तक्षेप मन पराउने पनि उत्तिकै छन्। अहिले आईसीसीका नियम हेरफेरमा भारतको ठूलो हात हुन्छ, जुन कुनै बेला इङ्ल्याण्डको हुन्थ्यो।
आतंकवादी गतिविधिका कारण विगत केही वर्ष यता पाकिस्तानको क्रिकेट प्रभावित भएको छ। पाकिस्तानले विश्वको कुनै पनि ठाउँमा भन्दा धेरै आतंकवादी उत्पादन गर्ने गरेको इङ्ल्याण्ड जस्तो क्रिकेटमा प्रभुत्व जमाएको देशको आरोप छ। इङ्गल्याण्डले पाकिस्तानी र ब्रिटिश पाकिस्तानीहरूलाई प्राथमिक आतंकवादी खतराको रूपमा मान्छ। पाकिस्तानलाई तेस्रो मोर्चा (इराक र अफगानिस्तान पछि) भनिन्छ।
केही वर्षअघि लाहोरमा श्रीलंकाको क्रिकेट टोलीमाथि भएको आतंकवादी हमलाले विदेशी टोलीलाई त्रसित बनाएको छ। यहीकारण लामो समय कुनै पनि देश पाकिस्तान भ्रमणमा गएनन्। अहिले पनि टेस्ट खेल्न अधिकांश देश त्यहाँ जान इच्छुक छैनन्। पाकिस्तानीहरूले घरमा विश्वस्तरीय क्रिकेट देख्न र विश्वले त्यहाँ खेल्न ‘मिस’ गर्दै आएको छ।
पाकिस्तानले पछिल्लो समय आईसीसीको मुख्य कार्यालय रहेको दुबईलाई घरेलु मैदान बनाउँदै आएको छ। विदेशी भूमिमा अभ्यास गरे पनि उसले कम्तिमा एक पुस्तालाई पुग्ने क्रिकेट खेलाडीहरु पाकिस्तानबाट उत्पादन गर्दै आएको छ।
उसको देशको अवस्था पनि क्रिकेटलाई सुहाउने नै मान्नुपर्छ। मुस्लिमहरुको बाहुल्य रहेको पाकिस्तानमा अन्य देशमा भन्दा अग्ला र फुर्तिला खेलाडी छन्। पूर्व क्रिकेटर इमरान खानजस्ता खेलाडीको प्रेरणा पाएका बलर शाहिन अफ्रिदीले यो विषय प्रमाणित गरेका छन्।
तर, क्रिकेटको सीमान्तीकरणले पाकिस्तानलाई वास्तवमै गरिब बनाएको छ। यद्यपि, पाकिस्तानले क्रिकेटमार्फत् राजनीतिको शक्तिलाई पराजित गरेको छ। पाकिस्तानले विश्वकप अगाडि मात्रै इंग्ल्याण्डमा अष्ट्रेलियाविरुद्ध घरेलु शृंखला खेलेको थियो। र, जब पाकिस्तानी खेलाडीहरु बल र ब्याट लिएर मैदान उत्रिन्थे उनीहरुलाई हेर्नेहरुको भिड पनि उत्तिकै देखिन्थ्यो। ती भिड पाकिस्तानी क्रिकेट समर्थककै थिए।
पाकिस्तान इंग्ल्याण्डका लागि आतंकवादको तेस्रो मोर्चा हुन सक्छ, तर क्रिकेटमा पाकिस्तानको लागि इंग्ल्याण्ड ‘घरेलु मोर्चा’ हो। उनीहरू भन्छन्, ‘क्रिकेट गौरवशाली तर, अनिश्चितताको खेल हो। क्रिकेटको पावरबेस इंग्ल्याण्डबाट भारत र घरेलु बेस पाकिस्तानबाट इंग्ल्याण्डमा सारिएको छ।’
सायद विश्व क्रिकेटको शक्ति सन्तुलनमा यी परिवर्तनहरू क्रिकेटमा मात्र सीमित छन्। अर्कोतर्फ यस्ता पछिल्ला घटना विश्वव्यापी वास्तविकतामा गहिरो परिवर्तनको लागि अग्रगामी हुन सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।