काठमाडौं– आफूलाई रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी (आईसीआरसी)को निर्देशक हुँ भन्दै ५० लाख रुपैयाँ ठगी गर्ने १ जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको चेन्नेई घर भइ काठमाडौंको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु छन्।
महानगरीय अपराध महाशाखाको टोलीले विरुमुथुलाई बालुवाटारबाट पक्राउ गरेको हो। आईसीआरसीको निर्देशक बताउने विरुमुथुले पोखरास्थित मणिपाल अस्पतालमा साझेदारी दिलाइदिने भनेर ५० लाख रुपैयाँ ठगी गरेका पाइएको छ।
अपराध महाशाखाका सूचना अधिकृत कृष्णप्रसाद कोइरालाका विरुमुथुले मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरसँग कुराकानी भइ सम्झौताका लागि मस्यौदा समेत तयार भइरहेको भनेर झुटा कागजात र कुराकानी तयार गरी विभिन्न व्यक्तिलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगी गरेका पाइएको छ।
'विरुमुथुले व्यक्तिले विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी उनीहरुको स्वामित्वमा रहेको जमिनको लालपूर्जा समेत आफ्नो नियन्त्रणमा लिइ ठगी गरेको समेत फेला परेको छ,' कोइरालाले भने, 'उनले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक शेयर रहेको भनि झुटा कागजपत्र समेत देखाएर ठगी गरेको पाइएको छ।'
विरुमुथु यसअघि २०७२ सालमा समेत पक्राउ परेर २ वर्ष जेल परेका थिए। २ वर्ष कैद र ३५ हजार जरिवाना तिरेर रिहा भएका उनी त्यसबेला पनि ठगी मुद्दामा पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।