अदालतको विकृति र विसंगतिबारे अध्ययन गर्ने पहिलो कार्यदलको संयोजक हुन्, वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल। अर्यालको नेतृत्वमा गठित समितिले न्यायाधीश, पूर्वन्यायाधीश र कानुन व्यवसायीसमेत न्यायको बिचौलिया रहेको किटान गरेको थियो। समितिले बुझाएको प्रतिवेदनमा सर्वोच्च अदालतमा भ्रष्टाचार रहेको र यसको मुख्य जड प्रधानन्यायाधीश भएको भनिएको थियो। प्रधानन्यायाधीशले चाहेमा यसलाई नियन्त्रण गर्न सक्ने प्रतिवेदनमा उल्लेख थियो।
२०६४ सालमा गठन भएको उक्त समितिको प्रतिवेदनपछि सर्वोच्च आफैंले पनि समिति गठन गरेको थियो। हालै पनि सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा विकृति र विसंगति अध्ययन गर्न समिति गठन भएको थियो। समितिले पेसी तोक्दैदेखि भ्रष्टाचार हुने र कतिपय न्यायाधीशले नै विचौलियाको कार्य गरेको निचोड प्रतिवेदनमार्फत् दिएको छ। यही प्रतिवेदनबाट सुरु भएको न्यायालयको विवाद अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको मागसम्म पुगेको छ। सर्वोच्च अदालतका सबै न्यायाधीश एकातर्फ भएका छन् भने राणा एक्लै भएका छन्। नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसन राणाविरुद्धको आन्दोलनमा छन्। सर्वोच्चमा चलिरहेको यही आन्दोलन र न्यायालयको विकृतिबारे वरिष्ठ अधिवक्ता अर्यालसँग नेपाल लाइभका लागि दुर्गा दुलालले गरेको कुराकानी:
प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतका सबै न्यायाधीश आन्दोलनमा उत्रेका छन्। नेपाल बार एसोसिएसन पनि आन्दोलनमा छ। अहिले न्यायमा अवरोधको अवस्था छ। न्यायिक इतिहासमा न्यायाधीश नै आन्दोलनमा उत्रेको अवस्थालाई कसरी हेर्न सकिन्छ?
न्यायपालिकामा विकृति बढ्यो। यो कुरा आज होइन, वर्षौंदेखि हामी भन्दै आएका छौं। अहिले यो अवस्थाको चरम रुप मात्र हो। हामीले २०६४ सालमै सर्वोच्च अदालत बार एसोसिएसनबाट एउटा समिति गठन गरि प्रतिवेदन बुझाएका थियौं। मेरो संयोजकत्वमा प्रकाश वस्तीसहितका व्यक्तिहरु संलग्न भएर हामीले अध्ययन गरेर केही विषयमा स्पष्ट सुझाव समेत दिएका थियौं। उक्त प्रतिवेदन सर्वोच्चमा पनि बुझाएका थियौं। तर, प्रतिवेदन कार्यान्वयनमा कुनै पनि प्रधानन्यायाधीशको ध्यान पुगेन।
प्रतिवेदनमा हामीले प्रष्ट रुपमा भनेका छौं– राम्रो मान्छे प्रधानन्यायाधीश भएमा न्यायालयको आधा समस्या समाधान गर्छ। तर, गलत मानिस पर्दा त्यसले दोब्बर क्षति पुर्याउँछ। एउटा न्यायाधीश नियुक्ति गर्दा सबै प्रक्रिया पूरा गरेर दबाब वा राजनीतिक प्रभावमा नगर्ने हो भने न्यायालय सँधै चोखो रहन्छ। हामीले नियुक्ति गर्दा योग्यता परीक्षा लिएर मात्र गर्नुपर्छ भनेको थियौं। त्यसमा कसैले पनि चासो लिएन। जति पछि हुँदै गयो, राजनीतिक दलहरु झन् झन् हाबी हुँदै गए।
यति मात्र भएन। न्यायपालिकामा प्रत्यक्ष रुपमा राजनीति घुसाउनका लागि न्याय परिषद्को संरचना नै गलत भयो भनी प्रतिवेदन दिइयो। तर, त्यसलाई परिर्वतन गर्न कसैले चाहेन। दलका नेताहरूको इच्छा अनुसारका व्यक्तिहरुले सर्वोच्च प्रवेश पाए। जिल्ला र उच्चबाट खारिँदै आएका राम्रा न्यायाधीशहरु पछि परे। शक्तिकेन्द्र धाउनेहरुले सर्वोच्चमा वर्चस्व बनाए। यसले न्यायपालिका जस्तो हुनुपर्ने हो, त्यस्तो भएन। हामीले तत्कालीन समयमा न्यायपालिकामा भ्रष्टाचार छ भनेर नलेखौं तर, यसैगरी सुध्रेन भने पछि आउने पुस्ताले भ्रष्टाचार पनि लेख्ला भनेर छोडेका थियौं। अहिले सिधै भ्रष्टाचार छ भनेर लेखिएको छ। हामीले उक्त समयमा देखेको कुरा अहिले पुष्टि भएको छ।
अहिले अध्यादेशवाट संरचना नै परिर्वतन गर्ने असंवैधानिक काम भयो। यसरी असंवैधानिक रुपमा भएका कार्यलाई बचाउ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कार्पेटमुनि लुकाएर राख्दा अहिलेको समस्या सिर्जना भएको हो। यही महत्वाकांक्षाबाट उनी माथि उठेर कार्यकारी जसरी मन्त्री बनाउनेदेखि अन्य कार्य गर्दा न्यायालय अहिले विवाद र आन्दोलनमा छ।
जसरी मासु भाग लगाउने मानिसले सबैथरी मिलाएर भाग लगाउनपर्छ, प्रधानन्यायाधीशले पनि त्यसैगरी मुद्दाको पेसी तोक्नुपर्ने थियो। तर, प्रधानन्यायाधीश राणाले त्यो गर्नु भएन। उहाँले आफूनिकट केही न्यायाधीशहरुलाई मात्र ठूला मुद्दा तोक्ने र अन्य वरिष्ठ तथा विज्ञता भएका न्यायाधीशहरुलाई सामान्य मुद्दामा सीमित गराउँदै आफैले चलखेल गर्नुभो। जसले गर्दा अहिलेको अवस्थामा पुगेको हो। मुद्दा मन परेको वा आफू अनुकुल फैसला गराउन तोक्ने हैन। यो सेटिङ वा विचौलियाको प्रभावमा भएको सिधै बुुझ्न सकिन्छ। यही कारण प्रधानन्यायाधीशविरुद्ध सहकर्मीले विद्रोह गरेको अहिलेको अवस्था हो। घरको मुलीले समान दृष्टि पुर्याएन भने घर सम्हाल्न सक्छ? सर्वाेच्चमा सबै न्यायाधीश बराबर हो। तर, त्यसमा पनि नेतृत्व प्रधानन्यायाधीश हो। घरको मुली बाबुमा विचलन आयो भने छोराहरुले विद्रोह गर्छन्। यही कारण न्यायाधीश र नेपाल बार आन्दोलनमा आउन बाध्य भएको हो। ३ वर्षसम्म सहकर्मी न्यायाधीशहरुले उनको भूमिका र क्रियाकलाप नजिकबाट नियालेर बसेका थिए। अति, भएपछि विद्रोहमा उत्रे।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै सुरु भएको आन्दोलन १२ दिन नाघिसकेको छ। तर, उहाँले राजीनामा दिन्न भन्नु भएको छ!
मैले देखेको यसको अरु कुनै पनि निकास छैन। एकमात्र निकास भनेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा दिने। उनले कुनै पनि हालतमा राजीनामा दिनुपर्छ। अब सर्वोच्च अदालतका आफ्ना कुनै पनि सहकर्मीको विश्वास छैन। इजलासमा बहस गर्ने कानुन व्यवसायीहरुको विश्वास छैन भने कसका लागि उहाँ न्याय निरुपण गर्न बस्नु भएको छ? उहाँले अब यो कुराको आत्मसमिक्षा गर्नुपर्छ। प्रधानन्यायाधीशको पहिलो बल भनेको सहकर्मी न्यायाधीश हो र दोस्रो नेपाल बार हो। उसले नै विश्वास छैन भनेपछि उहाँले आफूलाई अलग गराउनै पर्छ। उहाँले पद छोड्नु भएन भने उहाँ गलत बाटोमा हुनुहुन्छ भन्ने बुझ्नु पर्छ। उहाँलाई कसैले न्यायालय र यो व्यवस्था समाप्त गर्नका लागि उपयोग गरिरहेको छ भन्ने बुझिन्छ।




मलाई लाग्छ, मेरो प्रधानन्यायाधीश यसरी संविधान, न्यायालय र हालसम्म प्राप्त उपलब्धि सक्न लाग्नु हुन्न। उहाँलाई त्यस्तो शक्तिले साथ दिएको छ, जसले अहिलेको व्यवस्थालाई विघटन गर्न खोजेको छ। कुन कुना र कुन कोणबाट उहाँलाई यत्रो शक्ति प्राप्त भएको छ? यो अध्ययन गर्नुपर्ने विषय बनेको छ। उहाँले न्यायालय सुधारका लागि तत्काल बाटो खोल्न पर्छ। उहाँले अहिले न्यायालय सुधारका लागि त्याग गर्दा कुनै गलत कार्य हुँदैन। यदि उहाँ यही अडानमा रहनु भयो भने उहाँ न्यायालय सुधारका लागि बाधक भएको ठहर हुने छ। उहाँले यही अडान कायम राख्ने र म राजीनामा दिँदै दिन्न भन्ने हो भने यो आन्दोलन यत्तिकै रोकिएला झैं मलाई लागेको छैन। कानुन व्यवसायीबिना न्यायाधीशले मात्र फैसला गरेर हुँदैन।
अब १९ जना न्यायाधीशले रातारात कुनै चमत्कार गरेर प्रधानन्यायाधीशलाई सर्मथन गरेमा उनीहरु पनि अक्षम हुन्छन्। तर, उनीहरु इजलासमा फर्केपछि यो आन्दोलन समाप्त हुँदैन। अहिले प्रधानन्यायाधीश मात्र अक्षम देखिएका छन्। तर, यो अवस्थामा सबै अक्षम हुने छन्।
अदालतमा यति धेरै विवाद छ। न्यायमा अवरोध भएको यत्रो दिन भइसक्दा पनि राजनीतिक दलहरुले भने किन ध्यान नदिएका होलान्?
अदालतभित्रको विवादमा दलहरु तै चुप र मैं चुपको अवस्थामा छन्। प्रमुख प्रतिपक्ष केही बोलेको छ। त्यसको पनि केही निहितार्थ स्वार्थहरु छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले सिधै प्रधानन्यायाधीशलाई सर्मथन दिएको देखिएको छ। उनले प्रधानन्यायाधीश मात्र होइन अरु पाँच जना न्यायाधीशले पनि राजीनामा दिनुपर्ने भनेका छन्। उनले यसरी बोल्दा प्रधानन्यायाधीशलाई ढाडस मिलेको छ। मलाई के गर्न सक्छन् र? मेराविरुद्ध दलहरु छैनन् भन्ने प्रधानन्यायाधीशलाई लागेको छ।
मेराविरुद्ध संसदमा महाअभियोग दर्ता हुँदैन र दर्ता भएपनि एमालेबिना पारित हुँदैन भनेर प्रधानन्यायाधीश मख्ख परेको देखिन्छ। तर, यो गलत बुझाइ उनमा हाबी भएको देखिएको छ। के महाअभियोग लगाएर हटाउनु मात्र उत्तम समाधान हो र? अदालत भनेको जनविश्वास र जनआस्थामा टिकेको संस्था हो। अहिले महाअभियोग लागेन म पदमा रहन्छु भनेर सोच्नु भएको प्रधानन्यायाधीशले के ख्याल गर्न सक्नु भएन भने जनआस्था नभएको अदालत काम छैन। जनताको विश्वासको धरोहर नै अदालत हो।
यो विषय अब कसरी समाधान हुन्छ?
मलाई लाग्छ अब यो विषय संसद्भन्दा माथि पुगिसकेको छ। अब संसद्ले महाअभियोग दर्ता गरेर मात्र यसको समाधान निस्कदैन। संसद्मा महाअभियोग दर्ता हुने र पारित हुने नहुने फरक कुरा र गौण हुन थालेका छन्।
यो देशको व्यवस्था बचाउने हो भने उहाँले एक मिनेट पनि नबसी राजीनामा दिनुपर्छ। पूर्वप्रधानन्यायाधीश, न्यायाधीश बोलेका छन् भने नागरिक समाज समेत आवाज उठाउन थालेका छन्। राजनीतिक दलहरु बोलेका छैनन्। यसमा पनि उनीहरुको आफ्नै स्वार्थ छ। राजनीतिक दलहरु भनेको सधै अदालतमा हस्तक्षेप गर्नेहरु नै हुन्। उनीहरुले यही मौका पर्खेका हुन्छन्। अदालत अस्थिर होस् र आफू अनुकूलको राजनीति सफल पार्न सकियोस् भन्ने राजनीतिक दलहरुको दाउ सँधै हुन्छ।
अहिले पनि सत्तापक्षको एउटा र प्रतिपक्षको अर्को दाउ रहेको देखिन्छ। यो दल ऊ दल नभनौं, जुनसुकैलाई पनि सर्वोच्च अदालत आफ्नो पोल्टामा होस् भन्ने लाग्छ। तर, यो हुन दिनु हुँदैन। यो भएमा स्वतन्त्र न्यायालय समाप्त हुन्छ। जब अदालत सत्तापक्ष वा प्रतिपक्षको हुन्छ। अनि, न्याय समाप्त हुन्छ। स्वतन्त्र न्यायालयको अस्तित्व समाप्त हुन्छ। आश्चर्यलाग्दो कुरा प्रतिपक्षलाई अदालतको सँधै भर हुन्छ। तर, अहिले चोलेन्द्र शमशेर राणाको पक्षमा केपी शर्मा ओली किन यसरी उभिनु भएको छ भन्ने लागेको छ। यो जत्तिको बिडम्वना अरु के हुन सक्छ!
प्रधानन्यायाधीश अहिले सार्वजनिक सञ्चार माध्यममार्फत् आफ्नो बचाउ गर्दै राजीनामा दिन्नँ भन्दै हिँड्नु भएको छ। हामी कुन अवस्थामा छौं?
एउटा न्यायाधीशको काम फैसलाबाट न्याय दिने हो। जब कुनै न्यायाधीश आफूले गरेको फैसलाको बारेमा सार्वजनिक सञ्चार माध्यममा बचाउ गर्न थाल्छ भने उसले नैतिकता गुमाएको पुष्टि हुन्छ। फैसलाबाट आफूले दिने न्याय न्यायाधीशले दिन नसकेपछि सार्वजनिक सञ्चार माध्यमवाट बचाउ गर्ने हो। अहिले प्रधानन्यायाधीशले पनि यही गर्नु भएको छ। रञ्जन कोइरालाको मुद्दा सर्वोच्च अदालतमा विचराधीन छ। उहाँसहितको इजलासले गरेको फैसला पुनरवलोकनको निस्सा भएको अवस्थामा बचाउ गर्नु गलत हो। अन्तिम किनारा हुँदा उल्टन्न सक्ने सम्भावना त बाँकी नै छ।
यदि, प्रधानन्यायाधीशसहितको इजलासले गरेको फैसला गलत थियो भने उल्टेमा उहाँले गरेको बचाउ गलत थियो भन्ने पुष्टि हुन्छ कि हुँदैन? त्यस्तै, उहाँ नेतृत्वमा रहेसम्म उक्त मुद्दामा स्वतन्त्रपूर्वक न्याय हुन सक्दैन भन्ने प्रश्न आफैंले गरेको बचाउले समेत उठाएको छ। उहाँले नबुझेर र प्रधानन्यायाधीशको मर्यादालाई लिताञ्जली दिएर अन्र्तवार्ता दिएर आफ्नो बचाउ गर्दै हिँड्नु भएको छ। जब आफ्नै सहकर्मीहरुले प्रश्न उठाए त्यही समयमा उनले बाटो खुल्ला गरेर उदारता देखाउन सक्नुपर्ने थियो। अब जति उहाँ नेतृत्वमा टाँसिएर बस्नुहुन्छ त्यति नै क्षति हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।