काठमाडौं- अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणको छानबिन गरिरहेको भारतीय लागु औषध नियन्त्रण ब्युरो (एनसीबी)लाई अभिनेत्री रिया चक्रवर्तीको बैंक अकाउन्टलाई खुल्ला (डिफ्रिज) गर्ने आदेश दिइएको छ।
यसअगाडि सुशान्तको मृत्यु प्रकरणपछि लागु औषधको मुद्दामा छानबिन गरिरहेको एनसीबीले उनको प्रेमिका रियाको ‘बैंक एकाउण्ट फ्रिज’ गरेको थियो। तर, रियाले दर्ता गरेको निवेदनको सुनुवाई गर्दै भारतको विशेष अदालतले बुधबार उनको एकाउण्ट डिफ्रिज गर्न आदेश दिएको हो।
अदालतले बैंक एकाउण्ट डिफ्रिज गर्नेसँगै अनुसन्धानका क्रममा एनसीबीले नियन्त्रणमा लिएको उनको ल्यापटप र मोबाइल फोनलगायतका सामग्री पनि फिर्ता गर्ने आदेश दिएको छ।
रियाले अदालतसमक्ष गतवर्ष सेप्टेम्बरमा आफ्नो बैंक खातालाई कारणबिना फ्रिज गरिएको भन्दै उजुरी दिएकी थिइन्। उजुरीमा उनले आफ्ना कर्मचारीलाई तलब दिन र कर तिर्नका लागि बैंक अकाउन्ट आवश्यक पर्ने बताएकी थिइन्।
अदालतमा दिएको उजुरीको विपक्षमा एनसीबीले भने वित्तिय अनुसन्धान भइरहेकाले बैंक खाता डिफ्रिज गर्न नमिल्ने बताएको थियो। खातालाई डिफ्रिज गरेपनि अनुसन्धानमा बाधा आउने र त्यहाँ रहेको रकम लागु औषधसम्बन्धी व्यवसायमा प्रयोग हुने सक्ने सम्भावना रहेको बताइएको थियो।
अदालतले उक्त माग सम्बोधन गर्दै रियासमक्ष बैंकमा जम्मा भएको रकमको हरेक जानकारी एनसीबीलाई पनि दिने शर्तमा खातालाई डिफ्रिज गर्ने आदेश दिएको छ।
गतवर्ष जुन १४ मा आफ्नो अपार्टमेन्टमा मृत भेटिएका अभिनेता सुशान्तको विषयमा अहिले पनि अनुसन्धान भइरहेको छ।
उनको मृत्युपछि बलिउडसँग लागु औषधको सम्बन्धलाई लिएर थुप्रै कलाकारहरुमाथि अनुसन्धान भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।