काठमाडौं- टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो संस्करणका उपविजेता विक्की अग्रवाल मातृशोकमा परेका छन्। अग्रवालकी आमा दुर्गा मगरको मङ्गलबार (आज) दिउँसो निधन भएको हो।
सोमबार बेलुकी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको मगरको आज दिउँसो करिब ३ बजे निधन भएको कमेडी च्याम्पियनका निर्णायक मनोज गजुरेलले पुष्टि गरेका छन्।
कमेडी च्याम्पियनको दोस्रो संस्करणबाट निकै चर्चामा आएका विक्कीलाई काठमाडौंमै सेटल गाउन उनकी आमा दुर्गा काठमाडौं आएकी थिइन्। सिक्किम निवासी विक्की कमेडी च्याम्पियनबाट नेपालीमाझमा परिचित भएपछि नेपालमै बस्ने योजनामा थिए। तिहारको अवसर पारेर काठमाडौं आएकी मगरको सोमबार साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई चाबहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो।
गजुरेलकाअनुसार दिउँसो ३ बजे आमालाई कोठामा छाडेर हिँडेका विक्कीले बेलुकी ७ बजे आउँदा उनलाई अचेत अवस्थामा पाएका थिए। अचेत अवस्थामा रहेकी आमालाई अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरिदिएका थिए।
दुर्गाको शवलाई आजै साँझ सिक्किमबाट उनका श्रीमान् र विक्कीका दाजु आएर लगेको जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।