काठमाडौं- गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानविन गर्न बनाएको समितिले मङ्गलबार प्रतिवेदन बुझाएको छ। गृहमन्त्री बालकृष्ण खाणलाई छानविन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाएका हुन्।
गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका एसपी प्रवीण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य रहेको छानविन समितिले छानविनबाट भेटिएका प्रमाणले तीनै स्थानमा आत्महत्या भएको पुष्टि गरेको दाबी प्रतिवेदनमा गरेको छ।
गृहमन्त्री खाणको मन्त्रीस्तरीय निर्णयबाट कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय सुनसरीको पुरुष हिरासत कक्षमा गत असोज २४ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-५ का २९ वर्षीय मोहम्मख हकिमले झुण्डिएर गरेको आत्महत्या, इलाका प्रशासन कार्यालय टीकापुर कैलालीको हिरासत कक्षमा भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएका सुर्खेतको चौकुने गाउँपालिका-३ बस्ने ३५ वर्षीय धनबहादुर रानाले असोज २५ गते झुण्डिएर गरेको आत्महत्या र कारागार कार्यालय पर्वतमा जबरजस्ती करणी कसुरमा थुनामा रहेका बन्दी जिल्लाको फलेबास नगरपालिका-७ का ५८ वर्षीय दुर्गाराज पाण्डेले झण्डिएर गरेको आत्महत्याबारे अध्ययन गर्न मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा छानविन समिति बनाएको थियो।
प्रतिवेदन बुझाउँदै समिति संयोजक गौतमले छानविनका क्रममा भेटिएका प्रमाणले तीन स्थानमै आत्महत्या गरेको पुष्टि भएको बताए।
समितिले कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदीबन्दीलाई मनोसामाजिक परामर्श दिनुपर्ने, थुनुवालाई निःशुल्क कानुनी परामर्श दिनुपर्ने, हिरासत कक्षमा सुरक्षा निगरानी गर्नुपर्ने, हिरासत कक्षमा राखिएका सीसीटीभीलाई रेकर्डिङ र मोनिटरिङ गर्ने व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।