काठमाडौं– हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ले आफूले सञ्चालन गरिरहेको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्ने घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पत्रकारसँग कुरा गर्दै उनले कार्यक्रम बन्द गर्ने घोषणा गरेका थिए। टेलिभिजन कार्यक्रम बन्द गरेसँगै नेपाल केही समय ब्रेक लिएर फेरि टेलिभिजनमै फर्किने योजना रहेको बताएका छन्।
नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘मुन्द्रेको कमेडी क्लब’लाई निर्माण गरिरहेको कम्पनी ‘की एडभर्टाइजिङ’ले कार्यक्रममा आवद्द उमेश राई (फुलन्देकी आमा)लाई लिएर नयाँ कार्यक्रमको घोषणा गरेसँगै कलाकार नेपालले आफ्नो कार्यक्रम नचलाउने घोषणा गरेका थिए।
अब भने केही महिनाका लागि आफूले ब्रेक लिने उनले बताए। उनले भने, ‘दुई तीन महिना ब्रेक लिन्छु अनि फेरि टेलिभिजनमा नै फर्कन्छु। केही एजेन्सीसँग कुरा भइरहेको छ।’ टेलिभिजनमा फर्किदा कुन किसिमको कार्यक्रम लिएर फर्किने भन्ने बारेमा भने नेपालले खुलाएनन्।
सँगै दीपक–दीपाको टिमले निर्माण गरिरहेको ‘छक्का पञ्जा’ फिल्म शृङखलाको चौथो फिल्म ‘छक्का पञ्जा ४’मा आफू आवद्ध हुने विषयमा पनि नेपालले केही जानकारी नभएको बताए। केही दिनअघि नेपालका सिनेमा हलमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सूर्यवंशी’ प्रदर्शन अघि ‘छक्का पञ्जा ४’को घोषणा गर्दै हलमा ट्रेलर बजाइएको थियो। कलाकार नेपालले आफूलाई भने यसबारेमा जानकारी नै नभएको बताए।
‘मैले पनि अरुले भनेपछि मात्रै थाहा पाएँ,’ नेपालले भने, ‘फिल्ममा म रहने नरहने भन्ने कुरा मैले भन्ने होइन। उहाँहरुलाई नै सोध्नुस न मलाई राख्ने कि नराख्ने भन्ने बारेमा।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।