काठमाडौं– केही दिनअघि दिवंगत दक्षिण भारतीय स्टार पुनित राजकुमारले आफ्ना पिता डा राजकुमारको पथ पछ्याउँदै नेत्रदान गरेका थिए। उनको मृत्युपछि उनका आँखा दानमा दिइएका छन्। जसका कारण दुई जनाले उज्यालो संसकार देखिसकेका छन्।
पुनित मात्रै होइन, अन्य बलिउड कलाकारले पनि आँखा दान गरिसकेका छन्। त्यो सूचीमा सुन्दर आँखाका कारण चर्चित ऐश्वर्या रायदेखि ऋतिक रोशनसम्म छन्।
ऋतिक रोशन
ऋतिकले सन् २०१७ मा रिलिज फिल्म 'काबिल'मा नेत्रहीनको भूमिका निर्वाह गरेका थिए। आफ्नै भूमिकाबाट प्रभावित भएर उनले त्यही वर्ष आफ्नो जन्मदिनको अवसरमा आँखा दान गर्ने फैसला गरेका थिए।
आमिर खान
सामाजिक कार्य र सन्देशमूलक फिल्मका लागि चिनिएका आमिर खानले पनि आँखा दान गरेका छन्। उनले 'सिप अफ थिसेस' फिल्मबाट प्रेरित भएर आँखा दान गरेको बताउने गरेका छन्।
उनले अन्य अंगहरु कलेजो मिर्गौला, छाला, मुटु, फोक्सो, प्यांक्रियाज, हर्ट भल्भ, इअरड्रम आदि दान गर्ने फैसला गरेका छन्। उनीसँगै उनकी पत्नी किरण रावले पनि सवै अंग दान गर्ने संकल्प लिइसकेकी छिन्।
अमिताभ बच्चन
बलिउड महानायक अमिताभ बच्चनले पनि आफ्नो मृत्युपछि अरु कसैलाई उज्यालो संसार देखाउने बाचा गरेका छन्।
उनले सन् २०२० मा यस्तो बाचा गरेका हुन्। उनका साथै जया बच्चनले पनि आँखा दानका लागि निवेदन दिएकी छिन्।
जुही चावला
कुनै समयकी चर्चित अभिनेत्री जुही चावलाले पनि आँखादान गरिसकेकी छिन्। कुनै समय उनी मोतिया बिन्दूका बिरामीका लागि चलाइएको क्याम्प पुगेकी थिइन्। त्यहाँ ज्योति गुमाएकाहरुको अवस्था देखेर आँखादान गर्ने संकल्प गरेकी हुन्।
हेमा मालिनी
धेरैकी ड्रिम गर्ल हेमा मालिनीले सन् २००७मै आँखा दान गर्ने निर्णय लिएकी हुन्। उनले भिजन २०२० की ब्रान्ड एम्बेस्डर बनेपछि यो फैसला लिएकी हुन्।
ऐश्वर्या राय बच्चन
आफ्ना सुन्दर आँखाका कारण लाखौंको मन जितेकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चनले आँखा दान गरिसकेकी छिन्। उनी आफैं नेत्रदान क्याम्पमा समेत जोडिएकी छिन् र अरुलाई पनि दान गर्न प्रेरित गरिरहेकी हुन्छिन्।
कपिल शर्मा
कमेडीका लागि चर्चित कपिल शर्माले सन् २०१७मा आँखा दान गर्ने संकल्प लिएका हुन्। उनले आफ्नो चर्चित टेलिभिजन शो 'द कपिल शर्मा शो' मा सन् २०१७ मा दृष्टिहीन क्रिकेट टिम बोलाएका थिए। दृष्टिहीन टीमसँग कुरा गर्ने क्रममा उनी यति प्रभावित भए कि उनले आफ्ना आँखा दान गर्ने घोषणा गरे।
सोनाक्षी सिन्हा
नयाँ पुस्ताकी अभिनेत्री सोनाक्षी सिन्हाले समेत जरुरी रहेकाहरुको सहयोगार्थ आँखा दान गर्ने बताएकी छिन्।
सन् २०१८ मा आफ्नो फिल्मको प्रमोशन गर्न इन्डियन आइडलमा पुगेकी उनले नेत्रदान गर्ने घोषणा गरेकी हुन् र अरुलाई पनि दान गर्न अपिल गरेकी थिइन्।
यसैगरी सलमान खान, कृति सेनन, रितेश देशमुख, जेनेलिया डिसूजा, रानी मुखर्जीदगायतले नेत्रदानको संकल्प लिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।