काठमाडौं- विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५० लाख पार गरेको छ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभरमा कोभिड- १९बाट मर्नेको सख्या ५० लाख पार गरेको हो।
खोपले मृत्यु दर कम गरेको भएपनि केही स्वास्थ्य विशेषज्ञहरुका अनुसार मृत्युको वास्तविक आँकडा यो भन्दै निकै धेरै हुनसक्छ। मंगलबार मध्याह्न सम्ममा ५० लाख ६ हजार जनाको कोरोनाका कारण ज्यान गएको जोन हप्किन्सले जनाएको छ।
विश्वभर कोरोना भाइरसको संक्रमणदर केही कम देखिएको छ भने केही देशमा धेरै देखिएको छ। विश्वभर अहिलेसम्म २५ करोड भन्दा धेरैमा कोरोना भाइरस संक्रमण देखिएको छ।
विश्व स्वास्थ्य संगठनले अनुमान लगाए अनुसार महामारीका कारण मर्नेको संख्या आधिकारिक आँकडाको तुलनामा दुई या तीन गुणा बढी हुन सक्छ।
कोरोना महामारीले अहिलेसम्म सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा ७ लाख ४५ हजार ८ सय भन्दा धेरैले ज्यान गुमाएका छन्।
ब्राजिलमा ६ लाख ७८ हजार भन्दा धेरैको मृत्यु भएको छ। तर स्वास्थ्य विज्ञहरुले भने यो वास्तविक संख्या भन्दा निकै कम भएको बताएका बीबीसीले उल्लेख गरेको छ।
तर पछिल्लो समय मृत्युको दरमा कमी आएको छ।
विश्वमा मृत्युको आँकडा ४० बाट ५० लाख पुग्न ११० दिन लाग्यो जबकी यो आँकडा ३० देखि ४० लाख ९० दिनमा पुगेको थियो।
खोपले मृत्युको संख्यामा कमी आएको भएपनि विश्व स्वास्थ्य संगठनले महामारी समाप्त नभएको जनाएको छ।
गत हप्तामा रूसमा दैनिक कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ। यहाँ कोरोना महामारी सुरु भएपछिकै सबैभन्दा धेरै संक्रमित दर्ता भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।