काठमाडौं– नेपालले अनअराइभल भिसा खुला गरेपछि पर्यटक आगमन उत्साहजनक बनेको छ। अक्टोबर महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्नुले उक्त संकेत गरेको हो।
सेप्टेम्बरको अन्त्यतिर नेपालले कोरोना खोपको मात्रा पुरा गरेका विदेशीलाई क्वारेन्टाइन नबसी इन्ट्री प्वाइन्टमै अनराइभल भिसा दिने निर्णय गरेपछिको पहिलो महिनामै २३ हजार २ सय ८४ पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका छन्।
नेपालमा सबैभन्दा बढी सार्क मुलुकका पर्यटकरहेका छन्। सार्कबाहेकका एसियाली मुलुकहरुबाट ७ प्रतिशत, युरोपेली मुलुकका पर्यटकको संख्या १५ प्रतिशत, अमेरिकी मुलुकहरुको हिस्सा १७ प्रतिशत र अन्य देशको हिस्सा १० प्रतिशतको हाराहारीमा रहेको पर्यटन विभागको तथ्यांक छ।
सबैभन्दा बढी पर्यटक भारत आएका छन्। १० महिनाभित्र ४५ हजारभन्दा बढी पर्यटक भारतबाटै आएका छन्। अमेरिकाबाट १५ हजार, चीनबाट ५ हजार ५ सय, बेलायतबाट ४ हजार ३ सय र जर्मनीबाट १८ सय जना नेपाल भित्रिएको तथ्यांक छ।
अक्टोबर महिनामा हवाई मार्ग भएर २३ हजार २८४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। उक्त महिना नेपालबाट १४ हजार २२२ विदेशी बाहिरिएका छन्। अघिल्लो सेप्टेम्बर महिनामा नौ हजार ८९८ विदेशी पर्यटक नेपाल आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।