काठमाडौं- इराकको सर्वोच्च अदालतले गतवर्ष दक्षिणी सहर बसरामा भएको सरकार विरोधी प्रदर्शनलाई ‘कभरेज’ गर्ने दुई पत्रकारको हत्या गरेका एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ।
अल–डिजला टेलिभिजन स्टेशनका ३७ वर्षीय संवाददाता अहमद अब्देसमद र उनका क्यामेराम्यान सफा घलीको २६ जनवरी २०२० मा हत्या भएको थियो।
कारमार्फत् आफ्नो गृहनगर बसरामा फर्किँदै गरेका उनीहरुलाई बन्दुकधारीहरूले गोली हानेका थिए।
बसराको अदालतले सोमबार एक विज्ञप्तिमा भनेको छ, ‘एचके’ नामबाट मात्र पहिचान गरिएको व्यक्तिले सबै अपराधहरू स्वीकार गरेका छन्।’
अदालतका अनुसार दुई पत्रकारको हत्या सुरक्षा र स्थायित्व अस्थिर पार्ने र आतंकवादी उद्देश्यका लागि गरिएको थियो।
यद्यपि, अदालतले दोषी ठहराएको व्यक्तिले कुनै पनि समूहसँग आफ्नो सम्बन्ध रहे/नरहेको खुलाएनन्।
आरोपित व्यक्तिलाई २०२१ को सुरुमा हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो। उनीसँगै अन्य १६ जना पनि सोही घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका थिए।
अब उनलाई फाँसी दिने आदेशमा इराकी राष्ट्रपति बरहम सालिहले हस्ताक्षर गर्नुपर्नेछ। उनीसँग अपिल गर्न ३० दिनको समय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।