काठमाडौं- फोर्ड नेपाल (जीओ अटोमोवाइल्स प्रालि)ले नेपालमा आन्तरिक पर्यटन प्रवर्द्धन र अफ रोडिङ संस्कृतिको विकास गर्ने उद्देश्यले आफ्नो ग्राहक संलग्नता कार्यक्रमको रूपमा चिनिने 'अफ टु नुवाकोट' ४×४ कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धनको साथसाथै आरोहणको अवधारणालाई उकास्ने रहेको कम्पनीले जनाएको छ।
'यो एक दिनको पारिवारिक कार्यक्रम हो, काठमाडौं उपत्यकाबाट छोटो दूरीमा रहेको तर यो नेपालको प्राचीन र ऐतिहासिक स्थलहरूमध्ये एक नुवाकोटसम्मको यात्रा हो,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
र्याली टोखा-शिवपुरीमार्ग हुँदै सञ्चालन गरिएको थियो, जुन यात्राको बीचमा वन क्षेत्र र वनस्पति र पुरातन सांस्कृतिक गाउँसहितको सबैभन्दा रमणीय स्थानहरु थिए। यो कार्यक्रम विशेषगरी फोर्डको ४×४ ट्रक जीवनशैलीको प्रदर्शनमा केन्द्रित ग्राहक संलग्नता कार्यक्रमको एक हिस्सा भएको कम्पनीको भनाइ छ।
'अफ टु नुवाकोट'को अवधारणा विशेषगरी फोर्ड लाइफस्टाइल ट्रकहरूको प्रदर्शनको साथमा अन्वेषण र यात्राको संस्कृतिलाई जोड दिनु हो, जुन तपाईंको यात्रा अभियानमा नभइ नहुने पाटो हो,' कम्पनीले जनाएको छ। करिब ४० जना सहभागीहरुसँग फोर्डले जङ्गल भ्रमण, जिपलाइन र साइट सिइङजस्ता गतिविधिसहित नुवाकोटको ऐतिहासिक भूमिमा आफ्नो यात्रा तय गरेको थियो। नुवाकोटमा दिगो कफी खेतीलाई प्रवर्द्धन गर्ने नुवा एस्टेट फार्मको भ्रमण गरेर कार्यक्रमको समापन गरिएको कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।