काठमाडौं- ‘मिस युनिभर्स नेपाल २०२१’ को विजेता सुजिता बस्नेत बनेकी छन्। राजधानीको होटल याक एन्ड यतिमा शनिबार साँझ आयोजित फिनालेमा १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन्।
उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा उनी विजेता घोषणा भएकी हुन्।
उनी १० लाख नगदसहित हिरा जडित ताज लगाउन सफल भइन्। उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन्।
उनले आगामि १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। कार्यक्रममा डा केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप ,निनाकान्ता मण्डल फस्ट रनरअप घोषित भए।
प्रतियोगीको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रबाल, सरिता ज्ञावलीलगायत रहेका थिए।
गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिकाले गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।