काठमाडौं- नेपाल टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले जितेका छन्।
पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा उपाधिका लागि पराजुली र बुढाथोकीको जोडीसँग बालचन्द्र बराल र शोभा कार्कीको जोडीले प्रतिस्पर्धा गरेको थियो। तर, भोटको आधारमा पछि पार्दै प्रकाश र मीनाको जोडीले उपाधि हात पारेको हो।
पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेताले नगद २० लाख रुपैयाँ पाए। यसका साथै, १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छन्।
दोस्रो भएका कार्की र बरालको जोडीले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाए।
सविन आचार्य र रीता रावतको समूहले तृतीय स्थान हासिल गरेको छ। राजेन्द्र पाठक र मीना नेपालको समूहलाई भोटका आधारमा पछि पार्दै सविन र रीताको समूह तेस्रो भएको हो। राजेन्द्र र मीनाको समूह सान्त्वना भएको छ।
तृतीय र सान्त्वना समूहले क्रमश: तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गरेका छन्।
विजेता, उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।