काठमाडौं– नेपाल टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘दोहोरी च्याम्पियन’को फाइनल आज हुँदैछ। पोखराको लेकसाइडस्थित बाराही घाटमा साँझ साढे ४ बजेबाट फिनाले सुरु हुने कार्यक्रम आयोजक नेपाल टेलिभिजनले जनाएको छ।
फाइनलमा दोहोरी च्याम्पियनको उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीसँग बालचन्द्र बराल र शोभा कार्कीको जोडीले प्रतिस्पर्धा गर्दैछ। ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने मुल नाराका साथ आयोजना भएको कार्यक्रमको फिनालेमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मुख्य अतिथिका रुपमा उपस्थित हुनेछन्।
आजै, तेस्रो र चौथो स्थानका लागि पनि प्रतिस्पर्धा हुँदैछ। तेस्रो स्थानका लागि सविन आचार्य र रीता रावतको जोडीसँग राजेन्द्र पाठक र मीना नेपालको जोडीले प्रतिस्पर्धा गर्दै छ। दर्शकको भोटका आधारमा विजेताको छनोट हुने कार्यक्रममा शनिबार साँझ ६ बजेसम्म भोटिङ गर्न सक्ने व्यवस्था गरिएको छ।
कार्यक्रमको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार र एक करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछन्। त्यस्तै, दोस्रो हुने समूहले १० लाख रुपैयाँ र ५० लाख बराबरको जीवन बीमा र तेस्रो र चौथो हुने समूहले क्रमशः तीन लाख र दुई लाख रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाल टेलिभिजनले जनाएको छ।
कार्यक्रमको निर्णायकका गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र गायक चन्द्र शर्मा रहेका छन्। कार्यक्रमको सञ्चालकको रुपमा भने गायका बद्री पंगेनी र गायिका प्रीति आले रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।