काठमाडौं– हिमाल आरोही निर्मल पुर्जाको जीवनमा आधारित डकुमेन्ट्री नेटफ्लिक्समार्फत् प्रसारण हुने भएको छ। ‘फोरटिन पिक्सः नथिङ इज इम्पोसिबल’ आउँदो महिना नोभेम्बर २९ मा नेटफ्लिक्समार्फत् प्रदर्शन हुने भएको हो।
पुर्जाले आफ्नो सामाजिक सञ्जालमार्फत् आफूबारे बनेको डकुमेन्ट्री प्रदर्शन हुने जानकारी दिएका हुन्। उनकाअनुसार उक्त डकुमेन्ट्री ३१ विभिन्न भाषामा प्रदर्शन हुनेछ।
पुर्जाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुई वर्षअघि सिसापांग्माको शिखरमा उभिँदा मेरो लक्ष्य पूरा भएको थियो। १४ डेथ जोनको शिखर मैले ६ महिना ६ दिनमा उक्लेको थिएँ। त्यो एउटा अद्भूत अनुभव थियो।’
उनले आफूले हिमाल चढेर मानिसहरुलाई ठूला ठूला शिखरतर्फ आकर्षित गर्न खोजेको उल्लेख गरेका छन्। आफूबारे बनेको डकुमेन्ट्रीले पनि आम मानिसमा अग्ला हिमालहरुप्रति चाहना बढाउनेमा आशावादी रहेको बताएका छन्।
२९ नोभेम्बरबाट विश्वभर १९१ देशमा प्रदर्शन हुने उक्त डकुमेन्ट्रीको ट्रेलर आगामी हप्ता सार्वजनिक हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।