काठमाडौं-बंगलादेशी सरकारले साम्प्रदायिक हिंसा हुँदा आगजनीबाट क्षति पुगेको घरको पुननिर्माणमा सघाउने भएको छ।
विदेशमन्त्री डा एके अब्दुल मोमिनले एक विज्ञप्ति जारी गर्दै हिंसामा करिब २० घरमा आगजनी भएको बताएका छन्।
‘करिब २० घर जलेका छन्। क्षति पुगेका घरहरुको पुनर्निर्माण भइरहेको छ। सबैले क्षतिपूर्ति पाउनेछन् र क्षतिपूर्ति दिने प्रक्रिया जारी छ,’ उनले भने।
यस्तै, हिंसामा चार मुस्लिमसहित ६ जनाको मात्रै मृत्यु भएको उनले दाबी गरेका छन्।
‘हालैको हिंसामा चार मुस्लिमसहित ६ जनाको मात्रै मृत्यु भएको थियो। ४ जना सुरक्षा बलहरूसँगको भिडन्तमा मारिएका हुन्,’ उनले भने,‘एक हिन्दूको मृत्यु सामन्य हो। अर्कोको पोखरीमा हाम फालेर मृत्यु भएको हो।’
उनले हिंसा हुँदा महिला तथा बालबालिकामाथि बलात्कार भएको समाचारको पनि खण्डन गरेका छन्।
‘कसैको पनि बलात्कार भएको छैन र एउटा मन्दिरमा पनि क्षति पुगेको छैन। देवताका मूर्तिहरूमा क्षति पुगेको छ,’ उनले भने,‘यो हिंसा दुर्भाग्यपूर्ण थियो र हुनुहुँदैन थियो। सरकारले तुरुन्तै कारबाही गरोस्। हिंसामा संलग्नहरू पक्राउ परेका छन् र अहिले हिरासतमा छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।