काठमाडौं- उत्तर कोरियाली सरकारले चामलको हरेक गेडा बचाउन र मन लगाएर कृषिकर्म गर्न जनतासमक्ष आग्रह गरेको छ।
बिहीबार भएको संसदीय सुनुवाईमा उक्त आग्रह गरिएको दक्षिण कोरियाली खुफिया संस्थाले बताएको हो।
खुफिया संस्थाका अनुसार घमाइलो मौसमका कारण उत्तर कोरियामा यो वर्ष कृषि उत्पादन अघिल्लो वर्षको भन्दा धेरै हुने अनुमान गरिएको छ।
यसै महिना राष्ट्रसंघका शोधकर्ताले तयार पारेको एक प्रतिवेदनमा उत्तर कोरियाको अधिकांश जनसंख्या भोकमरीको जोखिममा रहेको उल्लेख गरिएको थियो।
आणविक हतियारलाई लिएर लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध, प्राकृतिक विपत् र कोरोना पछि सीमानाका बन्द हुँदा उत्तर कोरियामा खाद्य असुरक्षा थप गम्भीर बन्न पुगेको छ।
यस समस्यालाई हल गर्न उत्तर कोरियाले आगामी दिनमा चीन र रुससँगको सीमानाका खोल्ने तयारी थालेको बताइएको छ।
त्यस्तै, केहीदिन अगाडि मात्रै उत्तर कोरियाको सरकारी समाचार माध्यमले मुख्य आहारको रुपमा कालो हाँसको मासु उपभोगलाई प्रबर्द्धन गरेको थियो। हालसालै सुरु भएको कालो हाँसको व्यवसायिक पालनले जनताको जीवनस्तर सुध्रिने समाचारमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।