काठमाडौं– सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले हिमाली जिल्ला सोलुखुम्बुमा अप्टिकल फाइबर लिंक स्थापना गरेको छ। अप्टिकल फाइबर लिंक स्थापना पश्चात सोलुखुम्बुका बासिन्दाले दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने कम्पनीको दाबी छ।
पहिलोपटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सोलुखुम्बुमा सेवाको गुणस्तरमा थप वृद्धि हुने पनि एनटीसीले जानकारी दिएको छ।
समुद्री सतहबाट ३ हजार मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई बिहीबार १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो।
रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि जिल्लामा उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन । नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने कम्पनीको भनाइ छ।
पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुनेछ। यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुनेछ ।
विगतका वर्षहरुमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरीयताका बारेमा टिका टिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिंकको प्रयोगसँगै अब उप्रान्त ग्राहकवर्गले गुणस्तरीय सेवाको अनुभव गर्नसक्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।