फाइल तस्बिर काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरैभन्दा धेरै उद्योगधन्दा सञ्चालन गर्नुपर्ने बताएका छन्।
शुक्रबार १४औँ गोदावरी पुष्प प्रदर्शनीको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले उक्त धारणा राखेका हुन्। उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतीपातीलाई सरकारले प्रोत्साहन गरिरहेको बताए। उनले हरेक क्षेत्रमा काम गर्नेहरुले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्ने बताए।
‘उत्पादनमुखी अर्थतन्त्र हुनुपर्छ, उत्पादनमा आधारित राजस्व हुनुपर्छ। मैले यसो भनिरहँदा केहीले त्यसको विरोध गरे। स्वदेशमा उद्योगधन्दाहरु खोल्नु हुँदैन, बाहिरबाट किनेर बेच्ने हो भने खबरदार! देशको अर्थतन्त्र बलियो र वृद्धि गर्न स्वदेशमै उत्पादन गर्ने उद्योगधन्दाहरु हुनुपर्छ, खेतीपाती चाहिन्छ, व्यवसायलाई प्राथमिकता दिनुपर्छ, उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्रै आत्मनिर्भर बन्न सकिन्छ। नेपालमै भएका कच्चा पदार्थ र बाहिरबाट कच्चा पदार्थ ल्याएर भए पनि उद्योगधन्दा स्वदेशमै खोलिनुपर्छ, त्यसको लागि सरकारले के सहयोग गर्नुपर्छ तयार छौँ,’ उनले भने।
अर्थमन्त्री शर्माले नेपालमा पुष्पखेतीको आकर्षण बढ्दै गएको बताए। उनले पुष्प व्यवसायले देशको अर्थतन्त्रलाई बढाउने बताउँदै जनताको पसिनाबाट उठाइएको राजस्व जनताकै लागि खर्च गर्ने प्रस्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।