काठमाडौं- नेपाल हस्तकला महासंघले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आगामी मङ्सिर ३ देखि ५ गतेसम्म १८औं हस्तकला व्यापार मेला तथा १६औं क्राफ्ट प्रतियोगिता आयोजना गर्ने भएको छ।
विगत वर्षहरुमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यस वर्ष हायात रिजेन्सी होटल, बौद्धमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
कोरोना महामारीका कारण सिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्य बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ। मेला उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने जनाएको छ। मेला अवलोकनका लागि उच्च सरकारी अधिकारी, निर्यातकर्ताका साथै नेपालस्थित विभिन्न मुलुकका राजदूतलाई पनि आमन्त्रण गरिएको मेला संयोजक रवीन्द्र शाक्यले जानकारी दिए।
उक्त मेलामा हस्तकलालगायत विभिन्न वस्तुको करिब १२० स्टल रहने छन् भने मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत नेचुरल फाइबर (प्राकृतिक रेसा) र फिलगिरी गरी दुई विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरी कला प्रतियोगितका संयोजक राजमान बज्राचार्यले बताए।
त्यस्तै मेलाकै अवसरमा ७० वर्ष नाघेका ज्येष्ठ कलाकार तथा हस्तकला वस्तु विदेशी बजारका निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ। मेलालाई नेपाल सरकारका साथै अन्य सहयोगी संघ/संस्थाको पनि सहयोग रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।