काठमाडौं–अविरल वर्षाले पीडित कृषकहरुलाई तीन वर्गमा विभाजन गरी राहत वितरण गरिने भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा संघका र सातै प्रदेशका कृषि मन्त्रीको संयुक्त बैठकले पूर्णक्षति, आंशिकक्षति र सामान्य क्षतिमा विभाजन गरी राहत उपलब्ध गराउने निर्णय भएको हो। मन्त्रालयले सातै प्रदेशका कृषि सचिवलाई पनि छलफलका लागि डाकेको थियो।
क्षति पुगेको क्षेत्रफलका आधारमा निश्चित मापदण्ड बनाइ प्रतिइकाइ क्षेत्रफलका लागि निश्चित रकम राहत स्वरुप उपलब्ध गराउने निर्णय गरिएको छ। आगामी सिजनका लागि मल, वीउविजन तथा सिंचाइ सामग्रीहरु निशुल्क उपलब्ध गराउने विषयमा समेत छलफल भएको छ।
किसानको वर्गीकरणका आधारमा ऋण तथा व्याज मिनाहा÷छुटको व्यवस्थाका लागि पहल गर्ने बताइएको छ।
प्रदेशस्थित कृषि मन्त्रालयले मातहतका जिल्लाका स्थानीय तहसँग समन्वय गरि वर्षाले पारेको क्षतिको पूर्ण विवरण एक साता भित्र पठाउन कृषि मन्त्रालयले निर्देशन दिएको छ। क्षतिको पूर्ण विवरण प्राप्त भएपछि मन्त्रालयले राहतका लागि आवश्यक बजेटको अनुमान तयार गरि बजेट व्यवस्थाका लागि प्रस्ताव पेश गर्ने भएको छ।
असोज ३१ गतेदेखि परेको अविरल वर्षाले मुख्यतया धानवालीमा नोक्सानी पु¥याएको मन्त्रालयले जनाएको छ। कुखुरापालन, केरा खेती, मत्स्यपालन लगायत पनि वर्षाले क्षति पु¥याएको छ।
मन्त्रालयको प्रारम्भिक तथ्यांकमा सवा आठ अर्ब बराबरको धानबालीमा क्षति पुगेको छ। वर्षाले सबैभन्दा बढी लुम्बिनी प्रदेशका कृषक पिडित बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।