फाइल तस्बिर
काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिमको कारण रोकिएको गोदावरी पुष्प प्रदर्शनीको १४औं संस्करण आगामी शुक्रबारदेखि हुने भएको छ।
फ्लोरिकल्चर एसोसियसन नेपालको आयोजनामा गोदावरी पुष्प प्रदर्शनीको १४औं संस्करण आगामी शुक्रबारदेखि ललितपुरको जावलाखेल खेल मैदानमा हुने भएको हो। एसोसियसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदर्शनीको सबै तयारी पूरा भएको जानकारी दिएको छ।
प्रदर्शनीमा ४४ वटा व्यावसायिक र चार वटा सूचनामूलक गरी ४८ वटा स्टल राखिने एसोसियसनले जनाएको छ। प्रदर्शनीमा नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री-वितरण हुनेछ। यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको प्रदर्शनी हुने जनाएको छ।
चार दिने मेलामा उत्कृष्ट हुने एक स्टललाई नगद तथा प्रमाणपत्र प्रदान गर्नेसमेत एसोसियसनले जानकारी दिएको छ। यस वर्ष विभिन्न विधामा गरिने प्रतिस्प्रर्धात्मक प्रदर्शनी भने नहुने एसोसियसनले जनाएको छ।
हरेक वर्ष तिहार पर्वलाई लक्षित गरी हुने गरिएको गोदावरी पुष्प मेला कोरोना भाइरसको महामारीका कारण गत वर्ष भने स्थगन गरिएको थियो। एसोसियसनले यस पटकको प्रदर्शनीमा ५० लाख रुपैयाँको कारोबार हुने आशा गरेको छ। नेपालमा हाल १५७ हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा पुष्पखेती हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।