फाइल तस्बिर
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँठगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउनेपक्षमा आफू नरहेको बताएका छन्।
विगतमा नेपाल वायु सेवा निगमको जहाजको ग्राउण्ड ह्याण्डलिङसमेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै उनले आफू त्यसो नगर्ने प्रतिबद्धता जनाए।
नेपाल पर्यटन बोर्डले मंगलबार उनकै स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले निगमको थन्किएर बसेको दुईवटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागिपर्ने कार्ययोजना रहेको सुनाए। उनले आईकाओको कालो सूचीबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताए। त्यसका लागि आफूले निगमकै कर्मचारी संघ, संगठनहरुको मागअनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको गरेको उनले स्पष्ट पारे।
अब निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान सञ्चालन गर्ने, पर्यटन प्रवर्द्धन हुनेगरी उडान भर्नेलगायतका काम गर्ने मन्त्री आलेको भनाइ थियो। उनले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताए। कोभिडका कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको पनि उनले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।