काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी छन्।
मंगलबार काठमाडौंमा महिन्द्राको आठ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी हुन्।
उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने लक्ष्य रहेको बताइन्। मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारीसाधनले सहयोग गर्ने पनि स्पष्ट पारिन्।
विद्युतीय सवारीसाधनले रोजगारीमा पनि सहयोग पुग्ने उनको भनाइ छ। उनले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरुमा र उपत्यकामा चल्ने सबै सवारीसाधनहरु विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताइन्।
मन्त्री भुसालले सरकार विद्युतीय सवारीसाधनलाई स्थापित गर्न सहुलियतका लागि तयार रहेको बताइन्। उनले मङ्सिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने र घरेलु उपभोग र सिँचाइमा घटेको महशुल लागू हुने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।