काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गतेको फैसला गर्ने पाँचै जना न्यायाधीशलाई राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार एमालेको पालिका स्तरको अधिवेशन उद्घाटन गर्दै उनले सर्वोच्चमा देखिएको विवादबारे बोलेका हुन्।
उनले असार २८ गतेको फैसलाको सन्दर्भमा भने- संविधानमै नभएका कुरा, दुनियाँको संविधानमा नभएको कुरा सरकार बनाउने र हटाउने जस्ता कुरा, पाकिस्तानी शैलीमा परमादेशबाट हुन थालेपछि लोकतन्त्र के हुन्छ? आज सर्वोच्च अदालतमा आफैं देखिएको छ, तमासा। श्रीमान् न्यायाधीशहरु उहाँहरु आफैं कसले केके गरेको छ, अलिकति उधिन्न थाल्नुभएको छ। र उधिन्नै जाँदा निक्लिँदै थालेका छन् कुराहरु।
उनले परमादेशबाट एक जनाले होइन, पाँचै जनाले गरेको उनले स्मरण गराए। 'पाँचै जनाले परमादेश गर्नुभएको थियो भने एक जनासँग किन राजीनामा गर्नुहुन्छ श्रीमान्ज्यूहरु। पाँचै जनाले परमादेश गरेर देश यो हालतमा पुर्याउनुभएको छ त पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र? सर्वसम्मतिको तपाईंहरुको निर्णयको यस्तो सुगन्ध र दुर्गन्ध के फैलिएको छ, म भन्न चाहन्नँ। यस हिसाबको सर्वोच्च अदालतको मानमर्दन यहाँहरुले गरिरहनुभएको छ।'
तत्कालीन प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतको असार २८ गतेको फैसलाद्वारा बदर भएको थियो। सोही फैसलामा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश पनि दिइएको थियो।
प्रधानन्याधीश चाेलेन्द्रशमशेर राणानेतृत्वको सवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमाेहन भट्टराई रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।