तस्बिरः भरतमणि पौडेलको फेसबुकबाट। काठमाडौं– कमेडी च्याम्पियनको दोस्रो संस्करणका विजेता बनेका भरतमणि पौडेलले कार्यक्रममा प्रस्तुति दिने क्रममा पूर्वयुवराज पारस शाहको क्यारिकेचर गर्दा निकै चर्चा पाए।
पछिल्लो समयमा सार्वजनिक रुपमा पारसँग जोडिएका घटनाक्रमसँग सम्बन्धित रहेर उनले गरेको क्यारिकेचर निकै रुचाइयो। दर्शकदेखि कार्यक्रमका निर्णायक सबैले उनको प्रसंशा गरेका थिए। उक्त प्रस्तुतिले ‘पर्फमर अफ द राउण्ड’को उपाधी पाउँदै पौडेल सिधैं फाइनलमा पुगेका थिए।
यसबीच भरतले पूर्वयुवराज पारसलाई भेट्ने इच्छा समेत जाहेर गरेका थिए। सञ्चारमाध्यमसँगको कुराकानीमा पौडेलले शाहलाई भेट्ने मन भएको र अवसर नमिलेको बताएका थिए।
लामो समयदेखि आफूले भेट्न चाहिरहेका पूर्वयुवारज पारसलाई पौडेल अन्ततः भेट्न पाएका छन्। कमेडी च्याम्पियन पौडेलले केही दिनअघि पूर्वयुवराज पारसलाई भेटेका हुन्। पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले पूर्वयुवराज पारसलाई भेटेको जानकारी दिएका छन्।
अर्का कमेडियन सुमन कोइराला र पौडेलले पूर्वयुवराज पारसलाई दरबार मार्गस्थित एक मलमा भेटेका हुन्। करिब १ घण्टाको बसाइँमा पूर्वयुवराज शाहसँग रमाइलो गफगाफ भएको पौडेलले बताएका छन्। उनी लेख्छन्, ‘उहाँको शुभचिन्तक थिएँ, भेटघाटपछि झन् ठूलो प्रशंसक भएको छु। साँच्चै नै भन्ने नै हो भने उहाँ साह्रै रमाइलो साथी हुनुहुँदो रहेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।