काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि तयार रहेको बताएका छन्।
मंगलबार उनलाई भेट्न पुगेका सर्वोच्च अदालतकै १५ न्यायाधीशले राजीनामा गर्न सुझाएपछि राणाले यस्तो प्रस्ताव अघि सारेका हुन्। नभए आफूले मात्र राजीनामा नदिने उनको अडान छ।
'विवादमा अरु न्यायाधीशको पनि कुरा आएको छ। तपाईंहरूले गरेका फैसलामा पनि प्रश्न उठेका छन्। विवादमा आएका सबैले राजीनामा दिने हो भने म तयार छु', राणाले भने।
उनले सडकबाट उठेका विषयमा राजीनामा गर्ने हो भने न्याायलय नबच्ने तर्क गरे। प्रतिनिधि सभा विघटनको फैसला गर्ने अरु न्यायाधीशको बारेमा पनि प्रश्न उठेको राणाले बताए। उनले भने, 'म संवैधानिक प्रक्रियाबाट आएको हुँ। यत्तिकै राजीनामा दिने कुरा हुँदैन।'
मन्त्रिपरिषद् भागबन्डा मागेको लगायतका विषयमा प्रधानन्यायाधीश राणा विवादमा तानिएका छन्। राजीनामा गर्न उनलाई चौतर्फी दबाब छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।