काठमाडौं– नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा स्पष्ट विवरण खुल्ने गरी खातामा पठाउन निर्देशन दिएको छ।
बोर्डले सूचीकृत कम्पनी आफैंले वा सेयर रजिष्ट्रारमार्फत सेयरधनीको बैंक खातामा लाभांश जम्मा गराउँदा कुन कम्पनीको कति लाभांंश हो लगायतका पर्याप्त जानकारी नआएको गुनासो आएपछि स्पष्ट खुलाएर पठाउन निर्देशन दिएको हो।
‘सूचीकृत कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांश सेयरधनीको बैंक खातामा आफै जम्मा गर्दा र आफ्नो सेयर रजिष्ट्रार मार्फत बैंक खातामा जम्मा गराउँदा बैंक स्टेटमेण्टमा उक्त सेयर रजिष्ट्रार (क्यापिटल)को नाम मात्र आउने गरेकाले कुन कम्पनीको लाभांश हो, कुन आर्थिक वर्षको कुन दरको लाभांस हो स्पष्ट हुन नसकेको र हिसाब किताब राख्न सहज नभएको लगायतका व्यहोराको गुनासो बोर्डमा आउने गरेको छ’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
योसँगै अब कम्पनीहरु आफै वा आफ्नो सेयर रजिष्ट्रार मार्फत सेयरधनीको बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, लाभांश दर आदि खुल्ने गरी पठाउनुपर्ने सेवोनको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।