काठमाडौं– विपिन कार्की नेपाली कला क्षेत्रका अब्बल कलाकार हुन भन्नुमा कुनै दुईमत छैन। चाहे त्यो साढे दुई घण्टाको फिल्म होस् वा पाँच मिनेटको अभिनय, विपिन आफूले गरेको काममा पूर्णता दिन्छन्।
‘पशुपती प्रसाद’, ‘जात्रा’, ‘प्रसाद’जस्ता फिल्ममा जीवन्त अभिनय गरेका विपिन पछिल्लो समय म्युजिक भिडियोमा पनि देखिन थालेका छन्। सन्तोष लामाको स्वरमा रहेको ‘डर छैन’ होस् वा प्रमोद खरेल र अस्मिता अधिकारीको स्वरमा रहेको ‘सुनैको दरबार’मा होस, विपिनले फिल्ममा जस्तै अभिनयले म्युजिक भिडियोलाई पनि जीवन्त बनाएका छन्।
कार्कीकै जीवन्त अभिनय रहेको नयाँ गीत आइतबार सार्वजनिक भएको छ। केतन क्षेत्रीको स्वरमा रहेको ‘परदेशी आयो’ बोलको गीतमा विपिनले अभिनय गरेका हुन्।
सुवास भुसालको संगीत तथा प्रकाश सापकोटाको शब्द रहेको गीतमा क्षेत्रीले स्वर दिएका छन्। संगीत एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिङ अशोक महर्जनले गरेका छन्।
कार्की मुख्य भूमिकामा देखिएको म्युजिक भिडियोमा कविता न्यौपाने, सुरवीर पण्डित, शर्मिला शर्मा, देवेन्द्र नेपाल, शितस्मा धरेललगायतको अभिनय छ। भिडियोलाई दिपेश उपाध्याय र दिप्सन डंगोलले खिचेका छन् भने यसलाई सम्पादन तथा रंग संयोजन विकास दाहालले गरेका छन्। भिडियोको निर्देशन देवेन्द्र नेपालको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।