काठमाडौं- डिसेम्बरमा प्रदर्शन हुने फिल्म ‘जर्सी’लाई लिएर चर्चामा रहेका भारतीय अभिनेता शाहिद कपुरको नयाँ फिल्मको घोषणा भएको छ।
आदित्य निन्बालकरको निर्देशनमा बन्न लागेको फिल्म ‘बुल’मा शाहिद देखिन लागेका हुन्। उनी फिल्ममा एक प्याराट्रुपर (प्यारासुट चलाउने सैनिक)को भूमिकामा देखिँदै छन्।
एक्सन विधामा भनिरहेको फिल्म ब्रिगेडियर बुलसाराको जीवनमा आधारित कथामा निर्माण भइरहेको छ। शाहिद आफूले पनि एक्सनमा केन्द्रित फिल्ममा अभिनय गर्नमा निकै उत्सुक रहेको बताएका छन्। उनले भनेका छन्, ‘म यस्तो प्याराट्रुपरको भूमिकामा देखिँदै छु, जो आफ्नो बहादुरीका लागि परिचित छ।
उनले एक ऐतिहासिक र नि:स्वार्थ मिसनमा आफ्नो लडाकुको नेतृत्व गरेका थिए। यस्तो भूमिकामा अभिनय गर्न पाउनु आफैंमा गर्वको कुरा हो।’
भूषण कुमार, कृष्ण कुमार, अमर बुटाला र गरिमा मेहताले संयुक्त रुपमा निर्माण गरिरहेको यो फिल्मलाई हसिम अरोडा र परवेज शेखले मिलेर लेखेका छन्। फिल्मको निर्माणपक्षका अनुसार फिल्म २०२२ को सुरुआतदेखि छायाङ्कनमा जानेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।