फाइल तस्बिर
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा उत्पादित विद्युत् खेर जान लागेको बताएका छन्।
बेमौसमी वर्षाका कारण देशभित्र विद्युत् खपत घटेको उनले जानकारी दिए। विद्युत् प्राधिकरण कर्मचारी संघको १२औं महाधिवेशनमा घिसिङले भने, ‘वर्षातका कारण डिमाण्ड कम भएको छ। भारतको बिहारमा गरिएको निर्यात पनि अहिले कम भएको छ।’
देशमै विद्युत् खपत बढाउने आफ्नो पहल रहेको उनले सुनाए। उद्योगहरुले थप विद्युत माग गर्दा आन्तरिक खपत करिब १६ सय मेगावाट पुगेको उनले जानकारी दिए। उत्पादित विद्युत् देशभित्रको खपतले मात्रै धान्न नसक्ने भएकाले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापार सम्झौता हुनुपर्ने उनको भनाइ थियो। तीन देशबीच ‘पावर ट्रेडिङ’ सम्झौता गर्न उनले सरकारसँग आग्रह गरे।
विद्युत् प्राधिकरणको पहिलो कार्यकालमा लोडसेडिङ कसरी हटाउनेमा ध्यान केन्द्रित गरेको स्मरण गर्दै घिसिङले भने, ‘दोस्रो इनिङ खपत कसरी बढाउनेमा ध्यान छ। खेर जाने विद्युतलाई कसरी खपत गर्ने भन्नेछ। अहिलेको मुख्य चुनौती नै यही छ।’
निर्यात तुरुन्त बढाउने अवस्था भने तत्काल नरहेको उनले सुनाए। विगत एक वर्षमा उत्पादित ऊर्जालाई निर्यात गर्ने कार्यमा पहल नभएकाले वर्तमान अवस्था आएको उनले बताए।
विगत एक वर्षदेखि आधिकारिक ट्रेड युनियनको चुनाव प्राधिकरणमा हुन सकेको छैन। उक्त निर्वाचन गराउने प्रतिबद्धता घिसिङले कर्मचारी संगठनसमक्ष व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।