काठमाडौं– गत वर्षदेखि ‘मिस युनिभर्स’मा नेपालका प्रतिनिधि पठाउन थालेको उमङ क्रियशनले यो वर्षको ‘मिस युनिभर्स नेपाल २०२१’ को सुरुवात गरेको छ। बिहीबार दरबारमार्गस्थित याक एण्ड यति होटलमा कार्यक्रमको आयोजना गर्दै यो वर्षका लागि १६ प्रतिस्पर्धिहरु सार्वजनिक गरिएको छ।
प्रतियोगितामा कान्त मण्डल, सुजिता बस्नेत, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रितिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मिता न्यौपाने, सगुन गुरुङ, सदीक्षा खड्का, प्रतिक्षा महरा क्षेत्री, स्मारिका कार्की, विभूति गौतम, आर्या निशान्त र अनिशा महर्जनबीच शीर्ष १० का लागि प्रतिस्पर्धा हुँदैछ।
बिहीबार कार्यक्रमको औपचारिक थालनी गर्दै यो वर्ष प्रतिस्पर्धा गर्ने १६ जनालाई रेड कार्पेटमा र्याम्पवाक गराइएको थियो। उनीहरुले सञ्चारमाध्यम र दर्शकलाई आफ्नो परिचय र भविष्यको योजना बताउँदै र्याम्प वाक गरेका थिए।
१६ जना प्रतिस्पर्धिबाट सुरुवात भएको प्रतियोगितामा प्रतियोगीले पाएको अंकको आधारमा शीर्ष १० छानिनेछन्। जसमध्ये ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियोमार्फत् पाउनेछन् भने ५० प्रतिशत आइएमई एपमार्फत् गरिएको भोटबाट पाउनेछन्।
आयोजक उमङ क्रियशनका अनुसार प्रतियोगिताको फाइन कार्तिक १३ गते हुनेछ। मिस नेपाल युनिभर्सको उपाधी पाउने प्रतिस्पर्धीले डिसेम्बर १२ मा इजरायलमा हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्दै भाग लिनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।