काठमाडौं– मुम्बईको एक जहाजमा पार्टी गरिरहँदा लागूऔषधको व्यापार तथा सेवन गरेको आरोपमा पक्राउ परेका भारतीय अभिनेता शाहरुख खानका छोरा हाल आर्यन मुम्बईस्थित आर्थर रोड जेलमा छन्।
भारतीय लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले पक्राउ गरेपछि उनलाई अदालती सुनुवाइसँगै थप छानबिनका लागि जेलमा राखिएको छ। आर्यनको पक्षबाट जमानतका लागि पटक पटक भएको निवेदन पनि अदालतले अस्वीकार गर्दा आर्यन जेलमै बस्न बाध्य छन्।
२ अक्टोबरमा गिरफ्तार भएर १९ दिनदेखि जेलमा रहेका आर्यनलाई बुबा शाहरुखले बुधबार भेटेका छन्। बुधबार अदालतले जमानतका लागि दिइएको निवेदन खारेज गरेपछि आर्थर रोड जेलमा आर्यनलाई भेट्न शाहरुख पुगेका हुन्। जेलमा बुबा र छोराबीच करिब १८ मिनेट कुराकानी भएको भारतीय सञ्चारमाध्यमले बताएका छन्।
आर्यन र शाहरुखको भेट जेलको एक क्याबिनमा भएको थियो। इन्टरकमबाट दुईबीच भएको कुराकानीमा आर्यनले आफूले गल्ती गरेको बताउँदै बुबासँग माफी मागेका थिए भने आर्यनलाई शाहरुखले शान्त रहन भनेका थिए। त्यसबाहेक उनीहरुबीच थप के कुराकानी भयो भन्ने हाल खुलाइएको छैन।
अदालतले आर्यनको जमानतको निवेदनलाई अस्वीकार गरेसँगै अब एक हप्ताभित्रमा उच्च अदालतमार्फत् उनले जमानतको अनुमति पाउनुपर्ने छ। १ नोभेम्बरसम्ममा उनले रिहाइ पाएमा मात्रै उनी जेल बाहिर हुन पाउने छन्। नत्र तिहारका लागि अदालत छुट्टि हुने भएकाले उनले त्यो समय पनि जेलमा नै बिताउनुपर्ने हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।