काठमाडौं– बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खानलाई जमानतका लागि दिइएको निवेदन अदालतले खारेज गरिदिएको छ।
बुधबार आर्यनले अदालतमा आफ्नो रिहाइका लागि भन्दै दिएको निवेदन अस्वीकार भएको हो। अदालतले आर्यनसँगै पक्राउ परेका मुनमुन धमीचा र आरबाज मचेन्टको पनि निवेदन खारेज गरेको छ।
केही साताअघि जहाजमा लागूऔषधको प्रयोग तथा व्यापारको मुद्दामा पक्राउ परेका आर्यनले पटक-पटक अदालतसमक्ष जमानतका लागि निवेदन दिएका थिए। तर, सबै निवेदन खारेज भएको छ। बुधबारको निवेदन पनि खारेज भएपछि हाल आर्यनलाई मुम्बईको आर्थर रोडस्थित जेलमा राखिएको छ।
जमानतका लागि अदालतमा बुधबार भएको बहसबाट अदालतले अनुमति नदिएपछि हाल मुम्बईको उच्च अदालतमा निवेदन दिने तयारी भइरहेको आर्यनका वकीलले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्।
जहाजमा लागूऔषधको प्रयोग र व्यापारको आरोपमा पक्राउ परेका आर्यनको मुद्दा ह्वाट्सएपमा लागूऔषधकै विषयमा कुराकानी भएको पाएपछि थप जटिल बनेको छ।
यसबीच बलिउडले भने आर्यन र उनको परिवारको साथ दिएको देखिन्छ। तर, अदालत र भारतको राष्ट्रिय लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) भने आर्यनको मुद्दामा गम्भीर रुपमा लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।