काठमाडौं– बैंकहरूले सोमबारदेखि निक्षेपमा नयाँ ब्याजदर लागू गरी ब्याजदर वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल उद्योग परिसंघ प्रदेश १ ले गभर्नरलाई ज्ञापनपत्र बुझाएको छ। ब्याजदरलाई तत्काल सिंगल डिजिटमा झार्न ज्ञापनपत्रमा माग गरिएको छ।
परिसंघले इमेलमार्फत गभर्नरलाई ज्ञापनपत्र पठाउँदै त्यसको बोधार्थ प्रधानमन्त्री कार्यालय, अर्थमन्त्री, उद्योगमन्त्री, मुख्यमन्त्री लगायतलाई समेत दिएको छ।
आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न पनि ठूलो लगानीको आवश्यकता रहेको बेला लगानी नै प्रभावित गर्नेगरी बैंकको ब्याज वृद्धि कुनै हालतमा पनि अनुकूल मान्न नसकिने नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए।
वस्तु तथा सेवा उत्पादन गर्ने ऊर्जा, पर्यटन, कृषि, शिक्षा जस्ता आधारभूत उद्योगको लगानीमा प्रत्यक्ष असर गर्ने र त्यसको नकारात्मक असर उत्पादन, रोजगारी, आधारभूत सेवा र निकासीमा पर्ने उनको भनाइ छ।
अध्यक्ष घिमिरेले विगतमा ब्याज दर सिंगल डिजिटमा राख्नेगरी भएको भद्र सहमति तोडिएकोप्रति आपत्तिसमेत व्यक्त गरे। आर्थिक उद्दण्डता र अराजकताको प्रस्ट झल्को अहिलेको बैंकहरूको ब्याजदरको वृद्धिले देखिएको भन्दै उनले बैंकहरूको निर्णय आर्थिक तथा औद्योगिक हित विपरीत भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।