काठमाडौं- नेपाली कांग्रेसका विगतका १३ वटा महाधिवेशनलाई फर्केर हेर्दा आसन्न महाधिवेशनमा सभापतिको दाबी गर्ने सर्वाधिक संख्या हुने संकेत देखिएको छ।
सभापतिमा दाबी गर्नेले एकलाई अर्कोले स्वीकार्ने स्थिति हालसम्म बनेको छैन। सभापतिको उम्मेदवारीबाट पछि हट्न शीर्ष तहका नेता तयार नभएकाले प्रतिस्पर्धा दुई जनामा सीमित हुने देखिँदैन। वर्तमान सभापति शेरबहादुर देउवा सोही पदमा दोहोरिन चाहेका छन्। १३ औं महाधिवेशनमा पराजित वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका अर्का स्वाभाविक प्रत्यासी हुन्। संस्थापन समूहबाट विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।
संस्थापनइतरको पौडेलपक्षमा सभापतिको दाबी गर्ने संख्या संस्थापनमा भन्दा बढी छ। पौडेलसहित महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइरालाले उम्मेदवारी दिने बताएका छन्। सोही समूहबाट सुजाता कोइरालाले अन्य नेता पछि नहट्ने भए आफू पनि नहट्ने भन्दै सभापतिको दाबी गरेकी छन्।
तेस्रो धारका रुपमा चिनिएका नेता कृष्णप्रसाद सिटौलाले औपचारिक रुपमा घोषणा नगरेपनि सभापतिका आकांक्षी हुन्। गत महाधिवेशनमा उनी तेस्रो स्थानको मत ल्याएर दोस्रो चरणमा पुग्न सकेनन्।
संस्थापनइतरकै रुपमा रहेका युवा नेता कल्याण गुरुङ पनि सभापतिको दौडमा छन्। उनले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरिसकेका छन्।
विगतका १३ वटा महाधिवेशनमा सभापतिको प्रत्यासीको आधारमा हेर्दा १४ औं महाधिवेशनमा सभापतिमा धेरै जना भिड्ने देखिन्छ।
विगतका १३ वटा महाधिवेशनमा सभापतिमा को-को भिडे?
प्रथम महाधिवेशन
२००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा नेपाली राष्ट्रिय कांग्रेसको सम्मेलन भएको थियो। त्यसै सम्मेलनलाई कांग्रेसको पहिलो महाधिवेशनका रुपमा लिने गरिन्छ। उक्त सम्मेलनले सर्वसम्मतिले नै टंकप्रसाद आचार्यलाई नेपाली राष्ट्रिय कांग्रेसको पहिलो सभापति घोषणा गरेको थियो। आचार्य नेपाल प्रजा परिषद्को सभापति हुँदाहुँदै नेपाली राष्ट्रिय कांग्रेसको पनि सभापति बनेका थिए।
विश्वेश्वरप्रसाद कोइराला उक्त कार्यसमितिको कार्यवाहक सभापति बने। सभापति हुने इच्छा डिल्लीरमण रेग्मीको थियो। उनको नामलाई अन्य नेताले प्रस्ताव नगरेपछि सभापतिको दौडमा उनी रहेनन्।
दोस्रो महाधिवेशन
२००३ साल फागुन २१ मा विराटनगरस्थित जुद्ध जुट मिलमा मजदुर हड्ताल भएको थियो। हड्तालको नेतृत्व गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले गरेका थिए। उक्त मजदुर आन्दोलनको नेतृत्व गर्न बीपी कोइराला विराटनगर पुगेका थिए। फागुन २६ मा उनी पक्राउ परे।
बीपी पक्राउ परेपछि पार्टीको नेतृत्व परिवर्तन गर्न २००३ चैत २७ र २८ मा जोगवनीमा पार्टी प्रतिनिधिहरुको सम्मेलन बोलाइयो। कार्यकारी सभापतिका रुपमा मातृकाप्रसाद कोइरालाई चयन गरिएको थियो।
तेस्रो महाधिवेशन
२००५ फागुन १८ मा दरभंगामा नेपाली राष्ट्रिय कांग्रेसले तेस्रो वार्षिक अधिवेशन गर्यो।
उक्त महाधिवेशनमा बीपीलाई नै सभापति बनाउने माग पनि उठेको थियो। तर, उनको अवस्था निश्चित थिएन। तसर्थ, मातृकाप्रसाद कोइरालालाई नै सभापति बनाइयो। सभापतिको आकांक्षीमा गोपालप्रसाद भट्टराई पनि थिए।
चौथो महाधिवेशन
२००६ चैत २७ मा भएको चौथो महाधिवेशन पनि भारतमा भएको थियो। कोलकत्ताको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन (अधिवेशन) आयोजना गरियो। उक्त महाधिवेशनमा विगतका सम्मेलनमा सहभागी भएका प्रतिनिधि सहभागी भएका थिए। तीन सय प्रतिनिधिसहित सम्मेलन दुई दिनसम्म चलेको थियो।
सोही सम्मेलनले दलको नयाँ नाम ‘नेपाली कांग्रेस’ राखेको थियो। सभापति मातृकाप्रसाद कोइराला चयन भए।
पाँचौ महाधिवेशन
पाँचौं महाधिवेशन भने जनकपुरमा गरिएको थियो। २००९ जेठ १० देखि १२ सम्म पाँचौं महाधिवेशन भएको थियो।
पाँचौं महाधिवेशनमा नेतृत्वको विषयले तनावपूर्ण अवस्था बनेको थियो। मातृकाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नहुने त्यसअघि नै बताएका थिए। बीपीलाई सघाउने बताए पनि मातृकाले आफूले मनोनयन गरेको नाम कानुनी रुपमा फिर्ता लिएनन्। एक पक्षले मातृकालाई नै सभापति बनाउनुपर्ने माग गर्यो। विवाद बढेपछि झडपसमेत भयो। तनावपूर्ण स्थितिमा भएको मतदानमा सभापतिमा बीपी नै विजयी भए। उनले २९८ मत प्राप्त गरेर विजयी भए। मातृकाले ६८ मत ल्याएका थिए।
छैटौं महाधिवेशन
२०१२ माघमा कांग्रेसको छैटौं महाधिवेशन भएको थियो। सभापतिमा सुवर्ण शमसेर राणा चयन भए भने गणेशमान सिंहले पराजय भोगेका थिए। छैटौं महाधिवेशनपछिको कार्यसमितमा सभापतिमा सुवर्णसमशेर जबरा, महामन्त्रीद्वयमा विश्वबन्धु थापा र डा. तुलसी गिरी रहे। त्यस्तै, सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, श्रीभद्र शर्मा, गिरिजाप्रसाद कोइराला थिए।
विशेष महाधिवेशन
कांग्रेसको इतिहासमा विशेष महाधिवेशन पनि भएको छ। २०१४ सालको जेठमा विशेष महाधिवेशन विराटनगरमा भएको थियो। जसबाट बीपी कोइराला सर्वसम्मतिबाट पुनः सभापति बने। महामन्त्रीमा डा तुलसी गिरी र विश्ववन्धु थापा चयन भएका थिए।
७ औं महाधिवेशन
काठमाडौंको महाराजगंजस्थित लक्ष्मी निवासमा २०१७ वैशाख २५ देखि ३१ मा सातौं महाधिवेशन गरिएको थियो।
सभापतिको प्रत्यासीमा बीपी र भूदेव राई थिए। ६ सयभन्दा बढी प्रतिनिधि रहेको महाधिवेशनले बीपीलाई नै सभापतिमा चयन गर्यो। बीपीले सभापतिका अर्का उम्मेदवार राईलाई फराकिलो मतान्तरले पराजित गरेका थिए।
कांग्रेसको सातौं महाधिवेशन भएको आठ महिनामै अर्को महाधिवेशन गर्नुपरेको थियो।
२०१७ पुस १ गते राजा महेन्द्रले ‘कू’ गरेपछि प्रधानमन्त्री तथा पार्टी सभापति बीपी कोइरालासहित गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेता जेल परे। संयोगवश राजाले 'कू' गर्दा सुवर्ण शमशेर भारत भ्रमणमा थिए। शीर्ष तहका नेताहरु जेल परेपछि उनले सोही वर्ष माघमा भारतको पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन बोलाए। त्यही सम्मेलनले उनलाई कार्यवाहक सभापति पनि चयन गर्यो।
२०३४ सालमा पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन आयोजना गरिएको थियो। रिहा भएका बीपीले कार्यवाहक सभापतिको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई सुम्पिए।
८औं महाधिवेशन
बहुदलीय व्यवस्था पश्चात् सरकारको नेतृत्व गर्ने पार्टी नेपाली कांग्रेस थियो। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार भएकै बेला २०४८ फागुन १ देखि ३ सम्म आठौं महाधिवेशन आयोजना गरिएको थियो। उक्त महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापति निर्वाचित भए। सभापतिमा भट्टराईको मात्रै एकल उम्मेदवारी परेको थियो। भट्टराई सभापतिमा निर्विरोध चयन भएका थिए।
९औं महाधिवेशन
नेपाली कांग्रेसले आफ्नो नवौं महाधिवेशन २०५३ वैशाख २६ देखि २८ सम्म काठमाडौंमा आयोजना गरेको थियो। सभापतिका प्रतिस्पर्धी गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरि जोशी थिए।
कुल खसेको १४१० मत मध्ये कोइरालाले ११४४, वाग्लेले २५४ र रामहरि जोशीले १२ मत पाएका थिए। कोइरालाले पाएको मत ८१ प्रतिशतभन्दा बढी हो। गणेशमान सिंह यस महाधिवेशनमा उपस्थित नहुनु अर्को ऐतिहासिक परिघटना बन्यो।
१० औं महाधिवेशन
दशौं महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धामा फेरि कोइराला अघि सरे। कोइरालासँग सभापतिमा भिड्न शेरबहादुर देउवा पनि अघि बढे। अघिल्लो महाधिवेशनमा तेस्रो स्थानको मत ल्याएका रामहरी जोशी पनि सभापतिका प्रत्यासी भए।
१४७७ मतदाताबाट सभापतिमा ९३६ मत सहित कोइराला नै दोहोरिए। प्रतिस्पर्धी देउवाले ५०७ मत र अर्का उम्मेदवार जोशीले १० मत मात्र पाए।
११ औं महाधिवेशन
११ औं महाधिवेशन हुँदै गर्दा कांग्रेस विभाजित अवस्थामा थियो। प्रजातान्त्रिक कांग्रेसको नेतृत्व देउवाले गरेका थिए।
मुल कांग्रेसतिर कोइरालालाई चुनौती दिन सक्ने नेता थिएनन्। २०६२ भदौ १४ देखि १७ सम्म भएको उक्त महाधिवेशनबाट पनि कोइराला नै सभापतिमा चयन भए। कोइरालाको प्रतिस्पर्धी बनेका नरहरि आचार्यले न्यून मत पाए। कोइरालाको पक्षमा १२१५ मत आउँदा आचार्यले १६५ मत मात्रै पाए।
कांग्रेसको दशौं महाधिवेशनले सभापतिमा निरन्तर दुई पटकभन्दा बढी उम्मेदवार हुन नपाइने व्यवस्था गरेको भए पनि कोइराला तेस्रो पटक उम्मेदवार भएका थिए। कांग्रेस कार्यसमितिको बहुमतले दशौं महाधिवेशनले मात्रै विधान संशोधन गरेकाले कोइरालालाई तेस्रो पटक उम्मेदवार हुन बाधा नपर्ने व्याख्या गरेकाले उनी पुनः उम्मेदवार भएका थिए।
१२ औं महाधिवेशन
बाह्रौं महाधिवेशन २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। सभापतिमा सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ प्रत्यासी थिए।
कोइराला पहिलो चरणमै विजयी भए। उनले १६५२ मत ल्याउँदा पराजित देउवाले १३१७ र तामाङले ७८ मत पाए।
१३ औं महाधिवेशन
२०७२ फागुन २० देखि २३ सम्म तेह्रौं महाधिवेशनबाट देउवा सभापतिमा विजयी बने। उनका प्रतिस्पर्धी रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला थिए।
तीनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत कटाउन नसकेपछि मतदान दोस्रो चरणमा प्रवेश गरेको थियो। पहिलो चरणमा देउवाले १५६४, पौडेलले ११६० र सिटौलाले ३२४ मत ल्याए।
शीर्ष दुई जना सभापतिका लागि पुनः प्रतिस्पर्धा गर्दा देउवाले १८२२ मत पाए। पौडेलले भने १२९६ मतसहित पराजय भोगे। दोस्रो चरणको मतदानमा सिटौला पक्षले देउवालाई साथ दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।