काठमाडौं– चक्रपथस्थित महाराजगंज चोकबाट चावहिलतिर लाग्दा बायाँतर्फ भाटभटेनी सुपरमार्केटछेउ भएर जाने एउटा गल्ली छ। त्यही गल्लीमा ‘श्रुति मेकिङ आर्ट एन्ड ब्युटीपार्लर’ छ। हेर्दा सानो तर चिटिक्कको कोठा छ। हामी पुग्दा ब्युटीपार्लर सञ्चालक अनु श्रेष्ठ सेवाग्राहीको कपाल सुन्दर बनाइदिँदै थिइन्।
अनुले यो काम गर्न २०६४ सालमा नै सिकेकी हुन्। सुरुमा ब्युटिसियन सम्बन्धी ६ महिने कोर्ष गरेकी थिइन्। पछि थप एक वर्षको तालिम लिइन्। लगत्तै ब्युटीपार्लरको काम सुरु गरिहालिन्।
उनको माइती काठमाडौंकै साँखु हो। उनी बिहे गर्नुअघि नै ब्युटिसियन भइसकेकी थिइन्। बिहेपछि एक वर्ष काम गरिनन्। तर, काम नगरी बस्न चाहिनन्। अनि आफैंले ब्युटीपार्लर खोलिन्।
उनले काँगियो, काटा र कपालसँग खेलको १३ वर्षभन्दा बढी भइसकेको छ। बिहे गरेको पनि एक दशक भइसकेको छ। भक्तपुर सूर्यविनायकस्थित घरमा संयुक्त परिवार छ। उनी भने श्रीमान् र दुई छोराछोरीसँग महाराजगंज नै बस्छिन्।
संयुक्त परिवारमा बसेर व्यवसाय गर्न समस्या भएपछि श्रीमान्–श्रीमती सल्लाह गरेर कोठा भाडामा लिएर छुट्टै बसेको उनी बताउँछिन्। ब्युटिसियन उनको रुचिको पेसा हो। त्यस कारण काम गरेर थाक्दिनन्। ‘मैले रुचिको काम गर्न पाएकाले थकाइ महसुस हुन्न। काम गर्न उर्जा मिलेको छ,’ उनी भन्छिन्।
उनको श्रीमान्को पहिला मासु पसल थियो। अहिले किराना पसल छ। श्रीमानको पसल र उनको ब्युटीपार्लरका लागि उनीहरुले सिङ्गै घर भाडामा लिएका छन्। उनी ब्युटिसियन तालिम पनि दिन्छिन्।
भाडाको घरको पहिलो तलामा किराना पसल र तालिमका लागि कक्षा सञ्चालन गर्ने कोठा छ। दोस्रो तलामा ब्युटीपार्लर छ। घरभाडा मासिक ५० हजार रुपैयाँ तिर्नुपर्छ। तर, श्रीमान् श्रीमतीले नै व्यवसाय गर्दा कुनै असहज छैन। बरु श्रीमान् बाहिर जाँदा उनी किराना पसल पनि हेरिदिन्छिन्।
उनले पशुपति क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेकी छिन्। काम गर्दै पढाइ अघि बढाइन्। बिहेपछि पढाइ पूरा गरिन्। ‘सीपले गरिखाने ठाउँ दिन्छ। पढाइ भनेको त उज्यालो ज्ञान हो। त्यसैले पढेर जागिर खाने मात्र होइन, शिक्षित हुने हो,’ उनी भन्छिन्।
स्वरोजगार हुँदा उनलाई घर–व्यवहार गर्न सहज भएको छ। आफ्ना माग श्रीमानसँग राख्नु परेको छैन। आफ्ना आवश्यकताका सामग्री आफैं किन्छिन्। छोराछोरीको विद्यालयको शुल्क तिर्छिन्। घर खर्च चलाउँछिन। बरु कहिलेकाहीँ आवश्यकतामा श्रीमानलाई पनि सघाउँछिन्।
उनले तालिम दिएर अन्य महिलालाई पनि आत्मनिर्भर हुन हौसला दिएकी छिन्। जो जति महिना सिक्न चाह्यो त्यहीअनुसारको कोर्ष सिकाइदिन्छिन्। ‘महिलाहरु आर्थिक रुपमा बलियो हुन र आत्मानिर्भरका लागि यो व्यवसाय उत्तम लाग्छ,’ उनी भन्छिन्, ‘म सानोमा अलि नक्कली थिएँ, राम्री बन्न मन लाग्थ्यो। त्यसैले सानैदेखि मेरी रुचि यतै भयो। अहिले यो व्यवसायबाट सन्तुष्ट छु।’
त्यसो त उनको माइती पनि व्यापारमा नै लागेको छ। त्यसैले पनि उनले जागिर खाने सोच कहिल्यै बनाइनन्।
उनले २० लाख रुपैयाँ लगानीमा पार्लर व्यवसाय सुरु गरेकी हुन्। बिस्तारै लगानी बढाउँदै लगिन्। उनको काम लकडाउनमा पनि रोकिएन। नजिकका सेवाग्राही फोन सम्पर्क गरेर हिँडेरै पार्लर आइपुग्थे। त्यसैले अरु व्यवसायजस्तो उनको व्यवसाय चौपट भएन।
श्रीमान् र श्रीमतीले आफ्नो–आफ्नो व्यवसायको छुट्टाछुट्टै हिसाब राख्छन्। उनी घर–व्यवहारबाट बचेको पैसा आफ्नै ब्याङ्कखातामा जम्मा गर्छिन्। पैसा जम्मा गरेर तीन–चार आना जग्गा किन्ने र घर बनाउने उनको सपना छ। दुवै जनाको कमाइले सपना साकार हुने उनको विश्वास छ।
उनी दिनमा १० देखि १५ हजारसम्म कमाउँछिन्। उनले थे्रडिङ्ग, कपाल स्टेट, केरोटिन, नेल आर्ट, बेहुली सिँगार्ने, हेयर कलरिङ, फेसियल, हेयर कट र तालिमजस्ता सेवा दिँदै आएकी छिन्।
उनले फेसबुक पेज पनि खोलेकी छिन्। दँशैतिहारमा विशेष छुट दिएर फेसबुक पेजबाट प्रचार गरेकी छिन्। फेसबुक पेजबाट विज्ञापन गर्दा उनका सेवाग्राही टाढाबाट समेत आउने गरेका छन्। फेसबुक र टिकटकमा हेरेर चितवनबाट पनि सेवाग्राही आएको उनी बताउँछिन्।
उनले आफूसँग एक जना कर्मचारी पनि राखेकी छिन्। सर्लाही घर भएकी कर्मचारी सुनिता तामाङले ब्युटिसियन तालिम लिएको पाँच वर्ष भइसकेको छ। उनले सीटीईभीटीबाट ६ महिनाको कोर्ष लिएकी थिइन्। उनी एक महिनादेखि अनुसँग काम गर्न थालेकी छिन्। पहिला उनको आफ्नै पार्लर थियो। तर, त्यसलाई बन्द गरेर उनी अनुसँग काम गर्न आएकी हुन्।
अनुलाई अझ यो व्यवसाय विस्तार गर्ने चाहना छ। ठूलो तालिम केन्द्र खोलेर महिलाहरुलाई स्वरोजगार बनाउने चाहना छ। महिला उद्यमीका लागी सबैभन्दा सजिलो र सरल काम यही भएको उनी बताउँछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।