काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा १४औं महाधिवेशन सम्मन्न गर्नुपर्ने बताएका छन्। महाधिवेशन सम्पन्न गरेर पार्टी चुनावको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर २२ समितिले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार विगतका कमीकमजोरीबाट पाठ सिकेर अगाडि बढ्न नचाहेको टिप्पणी गरे।
सरकारले विगतका कमजोरीबाट पाठ सिकेर अगाडि बढ्न नखोज्दा संसद्ले काम गर्न नसेकेको पनि बताए। अहिलेको संसद्ले प्रभावकारी रुपमा काम गर्न नपाएकाले प्रेस इलेक्सन (ताजा जनादेश)मा जानुपर्ने उनको भनाइ छ।
'झन्डै दुई तिहाइ बहुमत पाएको सरकार किन बाहिरनु पर्यो? विधि नमानेपछि कानुनभन्दा म माथि हुँ भनेर जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेकाले ओली सरकार असपल भयो,' सिंहले भने, 'यो सबै बुझेर फेरि म जे पनि गर्न सक्छु भनेर लोकतत्रको मूल्य मान्यता विपरीत संविधानको धाराको गलत ब्याख्या गरेर न्यायपालिका सरकार गठनमा जोडिएको कुरा लोकतन्त्रका लागि गम्भीर चुनौती भएको छ।'
नेता सिंहले गत चुनाव अगाडि आईजीपी प्रकरण र प्रधानन्यायाधीशमाथि महाअभियोगले लगाउने कार्यले जनतामा कस्तो प्रभाव परेको थियो भन्ने कुरा निविर्सिन पनि प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको ध्यानार्षण गराए।
झण्डै तीन महिनाको समय लगाएर सरकार विस्तार गर्दा पनि प्रश्न उठेको उल्लेख गर्दै नेता सिंहले ती प्रश्नलाई हल्का रुपमा नलिन पनि सरकारको ध्यानाकर्षण गराए।
पार्टी भित्रका केही मान्छेका गलत कार्यको मूल्य सिङ्गो पार्टी चुकाउनु परिरहेको उल्लेख गर्दै नेता सिंहले पदमा बस्नेले मनलाग्दी गर्दा जनताले आफूहरुलाई गाली गर्ने गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।