काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न सञ्चारगृहले श्रमजीवी पत्रकारलाई समयमै पारिश्रमिक उपलब्ध नगराएको भन्दै नेपाल पत्रकार महासंघ प्रदर्शनमा उत्रिएको छ।
दैनिक पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनलगायत ठूला मिडिया हाउसमा कार्यरत पत्रकारले दशैँको मुखमा समेत पारिश्रमिक नपाएपछि बुधबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो।
श्रमजीवी पत्रकारलाई समयमै पारिश्रमिक उपलब्ध नगराए मिडिया हाउसमै पुगेर प्रदर्शन गरिने नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले बताए।
‘प्रतिष्ठित भनिएका मिडियाले दशैँको मुखमा समेत ८/९ महिनादेखिको पारिश्रमिक उपलब्ध गराएको छैन। यो सांकेतिक रुपमा माइतीघरमा प्रदर्शन गरेका छौं’ पुरीले भने, ‘लामो समयदेखि रोकिएको तलब दशैँअघि उपलब्ध नगराए मिडिया हाउसमै गएर आन्दोलन गर्नेछौं।’
रेडियो सगरमाथा, नागरिक राष्ट्रिय दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, इमेज टेलिभिजन लगायत सञ्चारगृहमा पत्रकारले समयमै पारिश्रमिक पाउन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।