काठमाडौं– मोरङमा ठूलो मात्रामा मानव खप्पर र हड्डी बरामद भएको छ। सशस्त्र प्रहरी बलको नम्बर ३ कंकालिनी गणबाट खटिएको टोलीले २८ थान मानव खप्पर र हड्डी मंगलबार बरामद गरेको छ।
विराटनगर महानगरपालिका–१५ रानीबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाका हड्डीसहित एउटा गाडी नियन्त्रणमा लिएको छ।
बेवारिसे अवस्थामा को १ च ९६४८ नम्बरको भ्यानबाट उक्त मानव खप्पर र हड्डी बरामद भएको कंकालिनी गणका गणपति तथा एसपी तीर्थ पौडेलले बताएका छन्।
मानव खप्परसहित नियन्त्रणमा लिइएको उक्त गाडी भारतबाट नेपाल प्रवेश गरेको हुनसक्ने प्रहरीले जनाएको छ।
सशस्त्रले बरामद गरेको उक्त मानव खप्पर र हड्डीससिहतको गाडी अनुसन्धानका लागि प्रहरीलाई बुझाइएको छ। मोरङ प्रहरीले भने बरामद मानव खप्पर जाँचका लागि फरेन्सिक ल्याबमा पठाउने जनाएको छ।
प्रहरीले बरामद गरेको मानव खप्पर र हड्डी।
यसरी मानव खप्पर गाडीमा बोकर हिँडेको आरोपमा प्रहरीले उक्त गाडीका चालकलाई बुधबार नियन्त्रणमा लिएको छ।
गाडीका चालक विराटनगरका विनोद राय र झापाका युवराज कार्की छन्। उक्त मानव खप्परका बारेमा उनीहरुमाथि थप सोधपुछ गरेपछि कहाँबाट किन ल्याइयो भन्ने खुल्ने प्रहरीले जनाएको छ।
उनीहरूले अहिलेसम्म उक्त सामानका बारेमा केही बताउन नचाहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।