रुपन्देही– जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न नागरिकहरुलाई आह्वान गरेको छ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले रुपन्देहीमा कोरोनाको जोखिम कायमै रहेको भन्दै त्यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न सबै नागरिकलाई पुनः आह्वान गरेका हुन्।
भारतसँग जोडिएको बेलहिया सीमा नाका सञ्चालनमा आएसँगै कोरोनाको जोखिम झनै बढेर जाने देखिएपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी त्यसको जोखिमबाट बच्न नागरिकलाई आह्वान गरेको हो।
नेपाल सरकारको निर्णय बमोजिम अन्तराष्ट्रिय सीमा नाका खोली सकेको अवस्था छ। नाका खुलेपछि यात्रुहरुको आवातजावत बढेको छ। र, रुपन्देही जिल्लामा कोरोना जोखिमको अवस्था अहिले पनि कायमै छ’ प्रमुख जिल्ला अधिकारी तिवारीले भने, ‘दैनिक २५ देखि ४० जना संक्रमितहरुको संख्या बढी रहेको छ भने सोही अनुपातमा निको हुनेहरुको संख्या पनि रहेको छ।’
उनले जोखिमलाई काम गर्नका लागिसीमा नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरेको बताए।
यता स्थानीय व्यवसायीहरुले भने बेलहिया सीमा नाका खुलेसँगै आफूहरुको व्यवसाय बढेर जाने विश्वास व्यक्त गरेका छन्। स्थानीय पर्यटन व्यवसायी रवी पौडेलले सीमा नाका खुलेसँगै भारतीय पर्यटकहरुको चहल पहल सुरु भएको भन्दै त्यसले आफूहरुको व्यवसायलाई अघि बढाउन राहत दिएको प्रतिक्रिया दिए।
स्थानीय व्यापारीहरुले सीमा नाका खुलेपछि आफूहरुको व्यापार राम्रो भएर जाने अपेक्षा गर्दै तस्करी नियन्त्रण गर्न प्रशासनसँग माग गरेका छन्।
सरकारले सीमा नाका खुलाउने औपचारिक निर्णय गरेसँगै रुपन्देही बेलहिया नाका पनि खुलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।